प्रतिनिधिसभाको बैठक सुरू भएको छ। शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जबाफ दिने कार्यसूची छ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ।
यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।
यसैबीच सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेको उनेको सचिवालयले जानकारी दिएको हो।
‘सभामुख देवराज घिमिरेले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गर्नुभएको छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गरेको र आफ्नो विरोध जारी रहने जानकारी दिएको थियो।