विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ।
संसद बैठक सुरू हुनेबित्तिकै शुक्रबार पनि राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए।
विपक्षी दलका सांसदहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको जानकारी दिए।
बजेटमाथिको छलफल भने निरन्तर जारी रहने सभामुखले बताएका छन्।
प्रतिनिधि सभा बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेको उनेको सचिवालयले जानकारी दिएको हो।
‘सभामुख देवराज घिमिरेले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गर्नुभएको छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गरेको र आफ्नो विरोध जारी रहने जानकारी दिएको थियो।