सत्तारुढ नेपाली कांग्रेसका सांसद दीपक गिरीले यसपटकको बजेट जनतामैत्री नभई मन्त्री र प्रधानमन्त्रीमैत्री भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनबारे बोल्दै दाङका सांसद गिरीले सत्ताधारी दलकै सांसद भएर यस्तो बोल्नुपरिरहेको छ भन्दै बजेटमा विभेद भएको गुनासो गरेका हुन्।
‘२०८२–८३ को बजेटबारे खुसीसाथ कुरा राखुँला भन्ने आशा थियो, यहाँ केही मन्त्रालयको विनियोजन शीर्षकमा छलफल गर्दा गम्भीर हुनुपर्ने कुरा आयो,’ सांसद गिरीले भने, ‘तर, बजेटले नेपाली जनतालाई देखेन। न विकासमैत्री, न लगानीमैत्री नै भयो। न सत्ताधारी सांसदमैत्री नै भयो। यो सत्ताधारी मैत्री मात्रै भयो। मन्त्री, प्रधानमन्त्रीमैत्री मात्रै भयो।’
सांसद गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ तिर लक्ष्य गर्दै भने, ‘म एउटा उदाहरण दिन्छु। ३–३ करोडको विकास आयोजना मात्रै १२ वटा एउटै क्षेत्रमा पारिएको छ।’
दमक र गौरादहमा पारिएका आयोजनाहरुको नामै बाचन गरेर उनले उदाहरण पेस गर्दै तरिगाउँ विमानस्थलमा जम्मा १ करोड मात्रै बजेट छुट्याएको भन्दै आक्रोश प्रकट गरे।
‘मैले हाम्रो इज्जत राख्दिनुस्। साख बचाइदिनुस् भनेर प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री सबैलाई भनेको थिएँ,’ उनले भने, ‘प्रधानमन्त्रीले तरीगाउँ एयरपोर्ट बन्छ भन्नुभयो। जग्गा अधिग्रहणकै लागि त्यहाँ ७० देखि ९० करोड लाग्छ। तर, जग्गा अधिग्रहणका लागि १ करोड छुट्याइएको छ।’
उनले थपे, ‘मलाई आशा थियो क्रान्तिकारी केपी शर्मा ओलीसँग, अर्थमन्त्री विष्णु पौडेलसँग, पर्यटमन्त्री बद्री पाण्डेसँग। तर अब म तपाईंहरूलाई अभिनन्दन गरौं कि, फुलको माला लगाउँ?’
प्रधानमन्त्रीले एयरपोर्ट बन्छ भनेपछि आफूले दंगाली जनतालाई त्यही भनेको भन्दै उनले आक्रोश पोखे, ‘त्यही विश्वाससहित दंगाली जनतालाई भनेको थिएँ। तपाईंहरूले जनताको प्रतिनिधिलाई नग्याउन खोजेको?’