इसराइल, इरानमा रहेका र स्वदेश फर्कन चाहनेहरूलाई समन्वय र सहजीकरण गर्न परराष्ट्र मन्त्रालयमा युनिट खडा गरिने भएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक बसेर युनिट राख्ने र २४ सै घन्टा काम गर्ने निर्णय भएको परराष्ट्र मन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन्।
‘इसराइल, इरानमा युद्धका कारण विकसित पछिल्लो परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भयो। ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भयो,’ मन्त्री राणाले भनेकी छन्।
तीन मन्त्रालयका समेत अधिकारीहरू सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घन्टा काम गर्ने निर्णय पनि भएको उनले बताइन्।
श्रम मन्त्री शरदसिंह भण्डारी सहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवहरुले पनि आवश्यक समन्वय र सहयोग बारे कुराकानी भएको मन्त्री राणाले बताइन्।