पार्टी कार्यक्रमको सिलसिलामा भारतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदद्वय हरि ढकाल र सोबिता गौतमले भारतका पूर्वउपराष्ट्रपति एम. वेंकैया नायडूसँग भेटवार्ता गरेका छन्।
संक्षिप्त भेटका क्रममा भएको संवादमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरूमा छलफल भएको सांसद गौतमले जानकारी दिएकी छन्।
‘हिजो प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बैंगलोरमा रहेको अवसरमा भारतका पूर्वउपराष्ट्रपति श्री एम. वेंकैया नायडूसँग अनौपचारिक भेटवार्ता गर्ने अवसर मिल्यो। उक्त संक्षिप्त भेटका क्रममा भएको संवादमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहे,’ सांसद गौतमले भेटबारे बताउँदै भनेकी छन्।
भेटका अवसरमा अवसरमा सांसदद्वय गौतम र ढकालले नायडूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गराएको उनले बताइन्।
‘यो भेटवार्ता पूर्णतः अनौपचारिक प्रकृतिको थियो। उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं। यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको छौं,’ उनको भनाइ छ।