गृहमन्त्री रमेश लेखकले विपदमा उद्धार गर्न काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित 'विपद व्यवस्थापनमा पत्रकारको भूमिका' विषय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै गृहमन्त्री लेखकले आवश्यकताअनुसार हेलिकप्टर एसोसियसनसित पनि समन्वय गरिएको बताए।
प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो।
'हामी अत्यन्त धेरै विपदको जोखिम भएको भूगोलमा छौं,' उनले भने, 'जुनसुकै बेला जेसुकै हुनसक्छ। बाढी, पहिरो, डुबानको पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको सकिन्न। त्यसैले हमेसा तयारी अवस्थामा बस्न जरूरी छ।'
यसका लागि राहत सामग्री तयार गर्न जिल्लास्थित विपद समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धति विकास गरिएको उनले बताए।
सातैवटा प्रदेशमा रहेको आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए।