पतञ्जलीको जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बयान सुरू भएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरू भएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दायर गरेको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत पुगेको उनका वकिल कपिलदेव ढकालले बताए।
नेपालको बयान सकिएसँगै थुनछेक बहस हुनेछ।
नेपाल आफैंले उपस्थित हुने भन्दै निवेदन दायर गरी बुधबार बिहान अदालत पुगेका थिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पचञ्जलीको जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियारले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद पनि निलम्बनमा छ।
यसअघि अख्तियारले मुद्दा दायर गर्नुअघि चैत १७ गते माधव नेपालको बयान लिएको थियो। बयानमा उनले अनुचित काम नगरेको बताएका थिए। नियतवश अनुचित काम गरेको भएमा सजाय भोग्न तयार रहेको पनि उनले बयानमा बताएका थिए।
‘मैले कसैलाई पनि नियम कानून र विधि मिचेर काम गर्नु भनेर निर्देशन वा आदेश दिएको छैन। मेरो यस्ता कुरामा कुनै संलग्नता रहेको छैन। मेरो कुनै पनि निर्णयहरू राष्ट्र र जनाताको हितका लागि मुलुकको नियम, कानून र विधि प्रकृया अनुरूप हुनुपर्दछ भन्ने मेरो मान्यता रहने गरेको छ। मलाई शंका नगर्न, मेरो नियतमा प्रश्न नगर्न म अनुरोध गर्न चाहन्छु,’ उनले त्यतिबेला भनेका थिए।
उनले अनुचित काम र कुरा रोक्ने कुरामा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
अख्तियारले लगाएका अधिकांश आरोपबारे अहिले स्मरण नभएको पनि नेपालले बताएका छन् ।
हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिन मिल्ने अवस्था के कति कारणले निर्णय भयो भन्ने विषयमा पनि याद नभएको बताएका छन्।
‘...हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिन मिल्ने अवस्था के कति कारणले हदबन्दी छुट दिने निर्णय भयो भन्ने सम्बन्धमा मलाई स्पष्ट याद आइरहेको छैन तर कुनै पनि काम गर्दा नियम, विधि पुर्याइ देश र जनतालाई हित हुने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने मेरो सधै मान्यता रहिआएको छ,’ बयानमा उनले भनेका छन्, ‘तत्कालीन कर्मचारी, निकाय र कानुनसँग जोडिएको निकायले यसमा ध्यान पुर्याउनुपर्ने हो। यसमा म जोड दिन चाहन्छु तर यी कुनै पनि काम निजी स्वार्थ प्रेरित गलत उद्देश्य राखी म बाट भएको छैन भन्ने कुरा ठोकुवाका साथ भन्न चाहन्छु।’
यो पनि: माधव नेपालको बयान: नियतवश अनुचित काम भएको रहेछ भने सजाय भोग्न तयार छु
माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर
माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा लैजाँदा अख्तियारले सारेका ५ आधार
माधव नेपाल विरूद्ध मुद्दा लगेपछि अख्तियारसामु उठेका दुई प्रश्न






