नेपाली कांग्रेसले जिल्लाका पार्टी संरचनामा देखिएका समस्या हल गर्न पहल थालेको छ।
यही क्रममा बुधबार सप्तरी जिल्लाका कांग्रेस नेताहरूलाई सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाएर पदाधिकारीहरूले छलफल गरेका छन्।
सभापति देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा र सप्तरीको विवाद मिलाउन केन्द्रीय प्रतिनिधि तोकिएका नेता ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरूले सप्तरीका नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा सप्तरीबाट केन्द्रीय सदस्य रहेका दुई नेता तेजुलाल चौधरी, दिनेश यादव, जिल्ला सभापति रामदेव साह र क्षेत्रीय सभापतिहरू सहभागी थिए।
‘गएको स्थानीय निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर कांग्रेस सप्तरीमा सुरू भएको विवाद अहिलेसम्म जारी छ,’ छलफलमा सहभागी एक केन्द्रीय पदाधिकारीले भने, ‘त्यही विवाद हल गर्न निर्देशन दिएर बैठक सकिएको छ।’
ती पदाधिकारीका अनुसार सभापति देउवासहितका नेताहरूले सप्तरीमा विवाद गरिरहेका दुवै पक्षका नेताहरूको कुरा सुनेका थिए।
‘उहाँहरू सबै पक्षको कुरा सुनेपछि जिल्लाको विवाद कसरी हल गर्ने भनेर हामीले बुँदागत रूपमै सुझाव र निर्देशन दिएका छौं,’ ती पदाधिकारीले भने ‘अब बिहीबार केन्द्रीय प्रतिनिधि ज्ञानेन्द्र कार्कीसँग सप्तरीको टोली बसेर लिखित सहमति गर्नेछन्। त्यो केन्द्रीय पदाधिकारीलाई देखाएर मात्रै टोली जिल्ला फर्कनेछ।’
सप्तरीमा जिल्ला सभापति रामदेव साह नेता शेखर कोइराला पक्षका हुन् भने जिल्ला कार्यसमितिमा बहुमत संस्थापन पक्षको छ।
कांग्रेसका ती पदाधिकारीले दिएको जानकारी अनुसार विवाद रहेका जिल्लाका समस्या समाधान गर्न केन्द्रले अब पहल थालेको हो।
‘आज सप्तरीको विवादलाई लगभग किनारा लगाइएको छ,’ ती पदाधिकारीले भने, ‘यसपछि अब खोटाङ, बाँके, प्यूठान, धादिङ जिल्लामा केन्द्रित हुनेछौं। झगडिया पक्षका मुख्य नेतालाई केनद्रमा बोलाउने, कुरा सुन्ने अनि कसरी सहमति गर्ने भनेर लाइन दिने काम सुरू भएको हो। अझै १० जिल्ला जतिमा समस्या छ। समाधान हुन्छ।’