मदन भण्डारीको विचार लेखिएका रंगीचंगी ब्यानर फर्फराइरहेका। प्रांगणमा ठडिएका पोलैपिच्छे मदनका तस्बिर र त्यससँगै लेखिएका उनले अघि सारेको जनताको बहुदलीय जनवादको दृष्टिकोणको सार–संक्षेप।
शनिबार राष्ट्रिय सभागृहको माहौल मदनमय थियो। काठमाडौं उपत्यकाका मात्र नभई टाढा टाढाबाट एमालेका नेता–कार्यकर्ता राष्ट्रिय सभागृह आइपुगेका थिए।
शनिबार मदन भण्डारीको ७४ औं जन्मजयन्ती हो। उनकै स्मृतिमा खडा भएको मदन भण्डारी फाउन्डेसनले आयोजना गरेका कार्यक्रममा सहभागी हुन मात्रै उनीहरू त्यहाँ धुइरिएका भने थिएनन्।
मदन जयन्तीका अवसरमा फाउन्डेसनले बर्सेनि यस्ता कार्यक्रम गर्छ। पछिल्लो समय कार्यक्रमको रौनक हराउँदै गएको थियो। नेता–कार्यकर्ताको उपस्थिति पनि घट्दै गएको थियो।
यसपालि भने माहोल ठीक उल्टो देखियो।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय पार्टी जीवनमा फर्किने अनौपचारिक जानकारी एमाले पंक्तिलाई छँदै थियो। त्यसको औपचारिक घोषणाको तिथि पनि उनले मदन जयन्तीलाई नै बनाएकाले यसैबाट उत्साहित नेता–कार्यकर्ताको ठूलो पंक्ति राष्ट्रिय सभागृह आइपुगेको थियो।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने भएपछि एमालेमा तीव्र ध्रुवीकरण बढिरहेको दृश्य शनिबारको सभागृहको जमघटले अझ प्रस्ट बनायो। भण्डारीले आगामी महाधिवेशनमा अध्यक्ष नै दाबी गर्ने बुझेकाले उनी समर्थकहरू शनिबारको कार्यक्रमबाट उत्साहित देखिएका छन्।
मदन जयन्ती नजिकिँदै जाँदा भण्डारी समर्थकले 'मदनको विचार विद्याको नेतृत्व भन्दै' सामाजिक सञ्जालमा प्रचार थालेका थिए। यसले पनि ध्रुवीकरणलाई बढावा दिएको थियो।
फाउन्डेसनले शनिबार गरेको कार्यक्रमका प्रमुख वक्ता प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नै थिए।
'जबजको तीन दशक' नाम दिएको विचार गोष्ठीको विशेष वक्ता चाहिँ पूर्वराष्ट्रपति भण्डारी र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए।
कार्यक्रममा एमाले उपाध्यक्षत्रय, रामबहादुर थापा 'बादल', सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अनुशासन आयोग अध्ययक्ष केशव बडाल, सल्लाहकार परिषद अध्यक्ष अमृतकुमार बोहोरा उपस्थित थिए। एमाले सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल लगायत थिए।
पोलिटब्युरो, केन्द्रीय सदस्य, सांसदहरूको ठूलो पंक्ति पनि गोष्ठीमा सहभागीका रूपमा दर्शकदीर्घामा थियो।
भण्डारी राजनीतिमा फर्किने कुराले महासचिव पोखरेल सन्तुष्ट छैनन्। त्यसैले पनि हुनुपर्छ, उनका समर्थक भनेर चिनिएका नेता–कार्यकर्ता सभागृह परिसरमा खासै देखिएनन्।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने भएपछि उत्साहित कार्यकर्ता कार्यक्रम सुरू भएदेखि नै हुटिङ र नाराबाजीमार्फत् उत्साह व्यक्त गरिरहेका थिए। भण्डारी बोल्दा, उनले पार्टी सदस्यता नवीकरण गरेँ भन्दा र अभिव्यक्ति टुंग्याएपछि समर्थकले ओली समूहलाई बिझाउने गरी नै ताली बजाइरहे, नाराबाजी गरिरहे। पार्टी गतिविधिमा छिटो फर्किन निमन्त्रणा गरिरहे।

हलमा नअटेर बाहिरसमेत छरिएका सहभागी र कार्यकर्ताहरूको उत्साह नजिकबाट देखेका प्रधानमन्त्री ओलीले सुरूदेखि नै असहज महसुस गरेका थिए। शनिबार साँझै स्पेन भ्रमणको तालिका भएकाले केही हतारो पक्कै देखिन्थ्यो। तर अनुहारको भावभंगिमा हतारोभन्दा पनि असहजता बढी थियो।
मञ्चमा बसिरहँदा पूर्वराष्ट्रपति भण्डारीसँग उनले खासै संवाद गरेनन्। बरू फाउन्डेसनकी अध्यक्षसमेत रहेकी विद्याकी छोरी उषासँग दुई–चार पटक कुराकानी गरे।
भण्डारी पार्टीमा फर्किँदै गर्दा कार्यकर्ता पनि बाँडिन थालेका छन्। पक्ष–विपक्षमा बाँडिएर अभिव्यक्ति दिन थालेका छन्।
यसलाई मसिनोसँग बुझेका प्रधानमन्त्री ओलीले शनिबार मन्तव्य दिने क्रममा लुकाउन भने खोजे।
उनले केही मिडियाले संस्थापन पक्ष (ओली समूह) ले राष्ट्रिय सभागृहको कार्यक्रम भाँड्न लागेको भनेर लेखेको भन्दै एमालेभित्र उनीहरूले ठूलो विग्रहको आश गरिरहेको समेत आरोप लगाए।
मदन भण्डारीको जन्मदिनकै सन्दर्भ पारेर पार्टीको आयोजनामा देशभर वृक्षरोपण गर्ने गरिएको उल्लेख गर्दै तहगत पार्टी कमिटीले योसँग सम्बन्धित कार्यक्रम राख्दा मिडियाले 'सभागृहको मदन जयन्तीको कार्यक्रम' भाँड्न लाग्यो भनेर चर्चा गरेको ओलीले बताएका थिए।
'यो मदन भण्डारीको ७४ औं जन्मजयन्ती, यसलाई उनीहरू (मिडिया) ले विभिन्न आश गरेका छन् – यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ। एकदम ड्याङड्याङ डुङडुङ! यहाँबाट एमाले सम्पूर्ण रूपले ध्वस्त हुन सुरू गर्छ। यस्तो सपना देखेर बसेका छन्। कुनै बम, बन्दुक, बारूद गोला पड्किनेवाला छैन। आश नगरे हुन्छ,' उनले भने।
उनले एमाले अमेरिकाको राष्ट्रपति चढ्ने बुलेट–प्रुफ कार जस्तै बलियो भएको र यसमा केही क्षति नहुने बताए।
भण्डारीले पनि ओलीसँग बढ्दै गएको असमझदारीको खासै संकेत गरिनन्।
तत्कालीन अनेरास्ववियु पाँचौंको सदस्य भएदेखि मालेकालीन पार्टीको सदस्य भएसम्मको लामो पृष्ठभूमि बाँध्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले यो पुष्टि गर्न 'यसपालि एमालेको पार्टी सदस्यता नवीकरण गरेको' बताइन्।
मदनसँगको विवाहपछि भूमिका बदलिएको सन्दर्भ उल्लेख गर्दै २०५० जेठ ३ गतेपछिको शोकाकुल घडीले राजनीतिका अर्को अध्याय सुरू गराएको बताइन्। त्यसपछि पार्टीकै निर्णयमा आफू दुई कार्यकाल (सात वर्ष) राष्ट्रपति भएको बताउँदै राजनीतिबाट पर रहन नसक्ने उल्लेख गरिन्।
काठमाडौंवासीले राजनीतिकर्मीको रूपमा अर्को जन्म दिएको बताउँदै भण्डारीले एमालेको राजनीतिमा फर्किन पाउँदा आफूलाई गर्व लागेको बताइन्। पार्टी जीवनमा क्रियाशील हुँदै एमालेले अघि सारेको 'सुखी नेपाली, सृमद्ध नेपाल' को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा आफू सक्रिय हुने बताइन्।
उनको अभिव्यक्ति सन्तुलित थियो। शालीन र सौम्य ढंगबाटै उनले सक्रिय राजनीतिमा फर्किएको स्पष्ट अभिव्यक्त गरिन्।
सभागृहमा एमालेभित्रको कित्ताकाट नयाँ ढंगबाट प्रस्फुटित हुँदै गरेको दृश्य भने कसैले लुकाउन सकेनन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसलाई बढी मुखरित गरे।
पार्टी संस्थापनसँग दुरी बढाउँदै लगेको पोखरेलले आफ्नो असहमति प्रस्ट भाषामा राखेका थिए। उनले संस्थापनसँग खास गरी चार वटा सन्दर्भमा आफ्ना असहमति रहेको स्पष्ट अभिव्यक्ति दिए।
जबजको कार्यान्वयनः पार्टी लोकतान्त्रीकरणको प्रश्न
प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको प्रादुर्भाव २०४६ सालको चौथो महाधिवेशनबाट भएको बताउँदै २०४९ सालको महाधिवेशनले मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गरेको बताएका थिए।
उनले मदन भण्डारीको अवसानपछि जबजको कार्यान्वयन र विकासमा पार्टीले त्यति ध्यान दिन नसकेको बताए।
'जबज कोठामा यसो बसेर ग्रहदशा केलाएजस्तो होइन। त्यसरी गर्ने चिज पनि होइन। जबज गाउँघरतिर नबोली अक्षता फ्याँकेजस्तो पनि होइन। नबुझिने गरी गुनुगुन गर्ने विषय पनि होइन। भिजन हो। मिसन हो। नेपालको सन्दर्भमा तमसोमा ज्योतिर्गमय हो,' प्रधानमन्त्री ओलीले भने।
ओलीले जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्ने क्रममा नेपाललाई तुइनमुक्त पारिएको दाबी गरे। जबज कार्यान्वयनकै क्रममा मुलुकमा नदी करिडोर सडकहरू, मदन भण्डारी राजमार्ग लगायत ठूला पूर्वाधारको काम भइरहेको र नेपाललाई सुरूङ युगमा प्रवेश गराएको तर्क गरेका थिए।
पोखरेलले यसलाई 'काउन्टर' दिए।
उनले जबजलाई सामान्य विकास निर्माणसँग जोड्न नहुने तर्क गरे। जबज पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्न भएको औंल्याए।
'विकास निर्माणका कुरा जति बेला सरकारमा हुन्छौं, नीति कार्यक्रमलाई लागू गर्ने कोसिस गर्छौं। सरकारमा नभएको बेलामा ती कुराहरू पूरा हुनुपर्छ भनेर दबाब दिन्छौं। यो हाम्रो स्थापित कुरा हो। तर म त भन्छु पार्टी जीवनको लोकतान्त्रीकरण जनताको बहुदलीय जनवादको अविच्छिन्न अंग हो। त्यसलाई तल–माथि पार्न सकिँदैन।'
यसो भनिरहँदा अध्यक्ष ओलीले नै पार्टी जीवनको लोकतान्त्रीकरणको सुरूआत गरेको पोखरेलले बताए।
२०५९ सालमा जनकपुरमा भएको सातौं महाधिवेशनदेखि नै अध्यक्ष ओलीले पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्न उठाउँदै आएको बताउँदै उनले जनकपुर महाधिवेशनमा त्यो स्थापित हुन नसकेको बताए। २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनले ओलीकै दृष्टिकोणलाई आत्मसात गर्दै एमाले बहुपदीय ढाँचामा गएको पोखरेलले बताए।
'२०६५ सालको आठौं महाधिवेशनमा एमाले बहुपदमा गयो। सामूहिक नेतृत्वमा गयो। त्यस बेला अगुवाइ गर्ने हाम्रो पार्टीको अध्यक्ष केपी ओली नै हुनुहुन्थ्यो। त्यसपछि पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने सन्दर्भमा त्यसका अवयव के के हुन सक्छन् भनेर खोजी भयो। त्यसको अगुवाइ पनि अध्यक्षले नै गर्नुभयो,' उनले भने।
पार्टी जीवनको लोकतान्त्रीकरणका लागि अंग र अवयवहरूको खोजी हुँदै जाँदा नवौं महाधिवेशनमा दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने र ७० वर्षे उमेर हदको प्रावधान ल्याइएको उनले बताए।
'नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन हेर्नुहोला। पार्टी जीवनको लोकतान्त्रीकरणको यावत कुराहरू त्यहाँ उल्लेख छन्। नवौं महाधिवेशनपछि एमाले आदर्शको रूपमा प्रस्तुत भयो। गौरवपूर्ण रूपमा देखियो,' उनले भने।
आठौं र नवौं महाधिवेशनपछि एमालेले गरेका अभ्यास अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विषय बनेको उनले बताए। यस कारण पनि अध्यक्ष ओली आफ्नै एजेन्डाप्रति इमानदार हुनपर्ने आशय पोखरेलले प्रकट गरेका थिए।
२०७५ जेठ ३ गते एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताको सुरूदेखि नै विरोधी देखिएका पोखरेलले त्यति बेलाको असन्तुष्टि शनिबार पनि पोख्न भ्याए।
त्यही एकतापछि पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्न मात्रै नभई विचारका धेरै पक्ष नै कमजोर बनेको बताए।
'हो, त्यही कमजोर हुने सिलसिलामा पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्न पनि कता हरायो कता। कता बिलायो? त्यसपछि हामी के भयौं भन्दा के भयौं, भयौं! एमाले र माओवादीबीचको एकता विभिन्न कारणले कायम रहन सकेन। एमालेले पुनर्जीवन प्राप्त गर्यो। त्यसपछि २०७८ सालमा विधान महाधिवेशन भयो। त्यसपछि चितवनमा दसौं राष्ट्रिय महाधिवेशन आयोजना गरियो। त्यति बेला पारित भएका राजनीतिक दस्तावेज, विधान जस्ताको तस्तै सुरक्षित छन्। हामीले पार्टी जीवनको लोकतान्त्रीकरणबारे के के निर्णय गरेका थियौं, ती सबै सुरक्षित छन्,' उनले भने।
पहिलो विधान महाधिवेशनले राखेको कार्यकारी पदमा ७० वर्षे उमेर हदको प्रावधान स्थगन गरिएकाप्रति एमाले पंक्तिभित्र असन्तुष्टि बढ्दै गएको छ।
त्यस्तै विधान महाधिवेशनले पारित गरेको दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने प्रावधान गायब गरिएकाप्रति पनि पोखरेलले असन्तुष्टि राखेका हुन्।
एमालेका पदाधिकारी तहका नेताहरू पहिलो विधान महाधिवेशनपछि पारित विधानमा त्यो प्रावधान रहेको जिकिर गर्छन्। तर एमालेको मौजुदा विधानमा त्यो व्यवस्था नै छैन।
कसले, कहाँ मेट्यो? उनीहरू यसै भन्न सक्दैनन्।

'नेतृत्व हस्तान्तरण हुनुपर्छ'
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको नेतृत्व (सत्ता) हस्तान्तरणमा जोड दिए। मदन भण्डारीले अघि सारेको दृष्टिकोण यसैको मर्म भएको पनि उनले बताए।
विश्वका कतिपय देशका कम्युनिस्ट पार्टीहरूले नेतृत्व हस्तान्तरण नगर्ने र अधिनायकवादी बाटोमा अग्रसर हुँदै गरेको अनुभवको आधारमा पनि यो दृष्टिकोण अघि सारिएको उनले तर्क गरे।
'कम्युनिस्टहरूलाई जनताले जिताउने, तर तिनै कम्युनिस्टहरू पछि जनताबाटै विस्थापित हुने अवस्था किन आउँछ? कम्युनिस्टहरू अनिर्वाचित हिसाबले जाने, सत्ता हस्तान्तरण नगर्ने खालका जुन प्रवृत्ति देखा परेका छन्, यी सच्याउनुपर्छ। उनीहरूको अधिनायकवादी शैली सच्याउनुपर्छ भनेर निकालिएको निष्कर्ष हो,' उनले भने।
उनले जबज कम्युनिस्ट आन्दोलनको शुद्धीकरणसँग सम्बन्धित विषय भएको पनि बताए। उनले पार्टीभित्र फरक विचार हुनसक्ने औंल्याउँदै त्यसलाई विधिसम्मत हल गर्नुपर्ने दृष्टिकोण राखे। निषेध गरेर जान नहुने तर्क गरे।
'द्वन्द्व सर्वत्र छ। प्रकृतिमा, मानव समाजमा, राजनीतिक प्रणालीमा, पार्टीहरूमा सबैतिर छ। द्वन्द्व छ र सर्वव्यापक हो भने त्यसलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ। विधिसम्मत ढंगले प्रकट हुन दिइएन भने त्यसले विस्फोटको रूप लिन्छ। ठूलो क्षति पुर्याउँछ,' उनले भने।
पोखरेलले यसो भनेर परोक्ष रूपमा पार्टीले आन्तरिक द्वन्दहरूको राम्ररी हल गर्न नसकेको आरोप लगाएका हुन्।
'पार्टी छाडेर जानेप्रति नेतृत्व पनि जिम्मेवार हुन्छ'
प्रधानमन्त्री ओलीले नेकपा एमालेका निम्ति २०७७, २०७८ र २०७९ साल निकै चुनौतीपूर्ण रहेको बताएका थिए। पार्टी विभाजन गर्नेहरूप्रति कटु अभिव्यक्ति दिँदै आएका ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको नाम नलिई शनिबार पनि कडा शब्दमा निन्दा र भर्त्सना गरे।
एमालेलाई कमजोर बनाउन र निमिट्यान्न पार्न विभाजनको अस्त्र उज्याएको बताउँदै माधवकुमार नेपालको नेतृत्वकाल (२०५०–२०६४) मा जबजको विकास पनि हुन नसकेको बताएका थिए।
२०७९ सालको निर्वाचनपछि 'एमालेलाई टर्च बालेर खोज्दा पनि नभेटिने, धूलो बनाउने' उनीहरूको उद्देश्य पूरा नभएको पनि बताएका थिए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले त्यसको पनि जबाफ दिए। उनले राजनीतिक पार्टीभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुने र त्यसले विग्रहको रूप लिने सिद्धान्तसम्मत विषय भएको बताए।
'राजनीति दलभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुन्छ। विग्रह निम्त्याउने, गर्नेहरूलाई मात्रै दोष दिएर हुँदैन। हाम्रो कार्यसम्पादन गर्ने शैलीमा कहाँ त्रुटि छ भन्ने कुरा ख्याल गर्नुपर्छ। यो दर्शन र सिद्धान्तले बताएको कुरा हो,' उनले जबाफ दिँदै भने।
'७० उमेर हद र कार्यकाल बहस बेमौसमी होइन'
एमाले विधान महाधिवेशनको सँघारमा रहेको बताउँदै अहिले चलिरहेको ७० वर्षे उमेर हद र कार्यकाल बहस 'बेमौसमी' नरहेको उनले बताए।
'विधान महाधिवेशन आउँदैछ भनेर त सचेत कार्यकर्ता सकबकाउँछन् नि। अलिअलि कुरा गर्छन्, के गर्दा ठीक होला भनेर सरसल्लाह गर्छन् नि,' उनले भने।
तर नेतृत्वले बोल्न पाउँदैनस् भनेर बन्देज गर्न नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले तर्क गरे।
'विधान महाधिवेशन आउँदै गर्दा कार्यकर्ताहरूलाई खबरदार बोल्न पाउँदैनस् भन्न मिल्छ? मिल्दैन। मान्छेले कुरा त गर्ने भए नि! तर पार्टीभित्रको सीमा रेखा भत्काउनु हुँदैन। जसले सीमारेखा भत्काउँछ, अलिकति संवेदनशील भाषामा भन्ने हो भने ऊ धर्मविरोधी हो। त्यसो गर्न पाउँदैन। तर बहस गर्न पाइन्छ। छलफल गर्न पाइन्छ। बेलै यही हो त कुन बेला गर्ने त?,' उनले प्रतिप्रश्न गर्दै भने।
पूर्वराष्ट्रपति भण्डारीलाई छेवैमा राखेर अध्यक्ष ओलीविरूद्ध पोखरेलले यसरी 'फायर' खोल्नुलाई एमालेभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। बुटवल महाधिवेशन (आठौं) पछि सदैव ओली खेमामा रहँदै आएका पोखरेलले पहिलो पटक उनीविरूद्ध मुखर रूपमा प्रस्तुत भएका छन्।
त्यसो त उनले यसअघि पनि आफू ७० वर्षे उमेर हद र कार्यकालको पक्षमा रहेको भन्दै ओलीलाई बिझाइसकेका थिए। तर यतिविघ्न दुरी बढेको महसुस ओलीपंक्तिलाई भएको थिएन।
जहिल्यै संस्थापन पक्षमा रहन रूचाउने नेताको छवि बनाएका पोखरेलले ओलीको ओर्लिँदो साख नजिकबाट बुझेर कित्ता फेर्न लागेको चर्चा पनि एमालेवृत्तमै छ।
पोखरेलको शनिबारको अभिव्यक्ति सुविचारित नै देखिन्छ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विशेष सन्देश दिने प्रचार उनी पक्षले गरेकै थिए।
तर भण्डारी आफै अघि सरेर बोल्दा राम्रो सन्देश नजाने ठानेर पोखरेललाई अघि सारिएको उनी पक्षका नेता–कार्यकर्ता बताउँछन्।
पोखरेलले बोल्नुअघि ओलीले बोलेर जाने बेलामा भण्डारीले आफ्ना कुरा पनि सुनेर जान आग्रह गरेको खुलासा गरे।
तर साढे पाँच बजेको उडान भएकाले सुन्ने समय नभएको उनले बताए। ठट्यौलीको शैलीमा भण्डारीको अभिव्यक्ति सुन्दै आएको र उनले राम्रो बोल्ने बताए। ओलीले त्यसो भन्दा भण्डारीको अनुहारको भावभंगिमा केही फरक र गह्रुँगोपन देखिएको थियो।
मन्तव्य टुंग्याउँदै गर्दा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष पोखरेलको पनि बोल्ने पालो रहेको र उनले पनि कहिल्यै नराम्रो बोलेको आफूले थाहा नपाएको बताए।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीसँग पोखरेलको राजनीतिक हिमचिम बढेको ओलीलाई थाहा नहुने कुरा थिएन। शनिबार विशेष वक्ताका रूपमा पोखरेललाई त्यहाँ निम्त्याएपछि उनले के बोल्नेछन् भन्ने आभास पनि सायद ओलीलाई थियो।
राष्ट्रिय सभागृहको तामझामले पनि त्यही संकेत गर्दै थियो।
जब पोखरेलले बोले ओलीको संकेत 'फेल' खाएन। पोखरेलले बोलेका 'राम्रा कुरा' भने उनले सुन्नु परेन। उनी हिँडिसकेका थिए।
***