गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्नेमा जोड दिएका छन्।
आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै उनले कार्यालय सहयोगीदेखि हवल्दारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताए।
‘प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवल्दार सम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरू प्रयोग गर्ने गरिन्थ्यो। मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु,’ उनले भने, ‘प्रहरीको ती कर्मचारीहरूलाई आधारभूत तह भन्नुपर्छ भनेको छु। प्रहरीको ठूलो संख्या जवान, हवल्दार लगायत हुनुहुन्छ। सबैभन्दा ज्याँदा सडकमा १२ देखि १६ घण्टा ड्युटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिट’ नै त्यही जगमा उभिएको हुनाले कानूनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौं। बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौं।’
मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरूको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए।
‘नेपाल प्रहरी सम्बन्धी कानूनलाई परिमार्जन गरेर राम्रो भन्दा राम्रो कानून बनाउने हामी सबैको एकै उद्देश्य हो,’ उनले भने, ‘नेपाल प्रहरीको सर्विस ल नै यही हो।’
सरकार प्रहरी ऐनलाई खुला रुपमा संवाद गरेर यो कानूनलाई सबैभन्दा राम्रो बनाउने गरेर निष्कर्षमा पुर्याउन तयार रहेको उनको भनाई छ।