नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औं महाधिवेशनको मिति तत्काल तोक्न माग गरेका छन्।
सोमबार सुरू भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्नका लागि पनि महाधिवेशनको मिति तोक्न नेतृत्वसँग माग गरेका हुन्।
महाधिवेशनको अनिश्चितताले पार्टी पंक्तिमा अन्योल बढाएको र सांगठनिक गतिशीलतामा असर पारेको उनको भनाइ छ।
‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्। यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ। विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन,’ उनले भने।
कांग्रेस विधानअनुसार चार वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ। यसअघि कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो।
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा छलफल भएको छ। केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ।
महरले पार्टी संगठनलाई सुदृढ गर्न तत्काल कदम चाल्नुपर्ने बताए। क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लैजानुपर्ने उनको भनाइ थियो।
लामो समयदेखि हुन नसकेको भातृ संस्थाहरूको महाधिवेशन तुरुन्तै सम्पन्न गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेण्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
महरले तीनै तहका सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र हालै प्रस्तुत बजेटबारे जनताको प्रतिक्रिया राम्रो नआएकाले गम्भीर समीक्षा गर्नुपर्ने बताए।
सरकार निर्माणताका भएको सात बुँदे सहमतिको कार्यान्वयन र त्यसले कांग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न उठाउँदै महरले भने, ‘सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ।’