अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर खर खर्च विधेयक सिनेटले पारित गरेको छ।
मंगलबार अमेरिकी माथिल्लो सदनमा उक्त विधेयक पारितका लागि मतदान भएकामा नाटकीय ढंगबाट पास भएको हो।
रिपब्लिकन बहुमत भएको सिनेटमा विधेयकबारे मतदान हुँदा पक्ष र विपक्ष दुवैमा ५०-५० मत परेको थियो।
विधेयक पारित गर्नुपर्ने पक्षमा र विधेयक पारित गर्न हुँदैन भन्ने पक्षमा बराबरी मत परेपछि उपराष्ट्रपति जेडी भान्सले पनि मतदान गरेका थिए।
सामान्य अवस्थामा उपराष्ट्रपतिले विधेयक पारित गर्ने सन्दर्भमा मतदान गर्दैन। बराबरी भएको अवस्थामा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउँछन् भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भान्सले मतदान गरेपछि ट्रम्पले ठूलो र सुन्दर (बिग ब्युटिफुल बिल) भन्दै आएका उक्त विधेयक सिनेटबाट ५१-५० को झिनो अन्तरले पारित भएको थियो।
यो त्यही विधेयक हो जसका कारण ट्रम्प र उनलाई चुनाव जिताउने अर्बपति इलन मस्कबीच भनाभन भएको थियो। पछि उनीहरुको झगडा मस्कले पछुतो जाहेर गरेपछि सुलह भएको थियो। तर सिनेटमा विधेयक पुगेपछि मस्कले फेरि ट्रम्पसँग वाकयुद्ध सुरू गरेका थिए। उनले विधेयक पारित भए नयाँ पार्टी खोल्ने चेतावनी दिएका थिए।
ट्रम्पले जबाफमा ट्रम्पले मस्कका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका छन्। ट्रम्पले मस्कलाई ‘दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्ने’ चेतावनी समेत दिएका थिए। विधेयक सिनेटले पारित गरे पनि मस्कले नयाँ पार्टीबारे भने अभिव्यक्ति दिएका छैनन्।
सिनेटले कडा प्रतिस्पर्धाबाट पारित गरेको विधेयकमा रिपब्लिकन पार्टीकै तीन सिनेटरले त्यसको विपक्षमा मतदान गरेका थिए।
नर्थ क्यारोलिनाका थोम टिलिस, मेइनका सुसन कोलिन्स र केन्टकीका र्यान्ड पाउलसहित तीन रिपब्लिकन सिनेटरले यसको विपक्षमा मतदान गरेका थिए।
विधेयकले स्वास्थ्य बीमा कार्यक्रमको कटौती, धनीहरूलाई कर लाभ, ग्रामीण अस्पतालहरू बन्द हुने, वैदेशीक ऋण, नवीकरणीय ऊर्जामा दिएको प्रोत्साहन खारेज गर्ने व्यवस्था रहेकाले धेरै रिपब्लिकनहरूले यसको पक्षमा मतदान गरे पनि तीन जनाले यसको विरोध जनाएका थिए।
विधेयक प्रतिनिधि सभा (हाउस अफ रिप्रिजेन्टेटिभ)मा पठाइएको छ। त्यहाँ रिपब्लिकनहरूको २२०-२१२ को झिनो बहुमत छ। प्रतिनिधि सभामा पनि रिपब्लिकनै सदस्यहरू उक्त विधेयकको विपक्षमा रहेका कारण त्यहाँ पनि ठूलो लडाइँ हुने निश्चित रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।