रूपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
दलहरूले उपनिर्वाचनका लागि उम्मेदवारबारे आन्तरिक छलफल अघि बढाएका छन्।
उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा देखाएकाहरूले पनि गतिविधिलाई तीव्रता दिँदै सामाजिक सञ्जालबाट प्रचार गर्न थालेका छन्।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए।
उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई एक शब्द भाषणसमेत नगरी हराएका थिए।
पोस्ट कोभिडका कारण बोहरा बोल्न सक्दैनथे। अन्तत: यही कारण बोहराको गत चैत १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त भयो।
रूपन्देही ३ मा उपनिर्वाचन हुन लागेपछि दीपक बोहराकै परिवारका सदस्यहरूलाई उम्मेदवार बनाउन दलहरू आन्तरिक गृहकार्यमा छन्।
दीपक बोहराका दुई जना छोरा छन्- गौरव र प्रज्ज्वल। दुवै छोराहरू यसअघि सक्रिय राजनीतिमा थिएनन्। तर दीपक बोहराको निधनपछि उनीहरू राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन्।
अहिले दुवै जनाले रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवारको आकांक्षा राख्दै गतिविधिलाई तीव्रता दिएका छन्।
राप्रपाले पनि दीपक बोहराकै दुई छोरालाई मनाएर एक जनालाई उम्मेवार बनाउन खोजेको छ। उम्मेदवार हुन दुवै छोरा आकांक्षी छन् र पार्टीकै सम्पर्कमा रहेको राप्रपाका एक पदाधिकारीले बताए।
‘दीपक बोहराका दुई छोरामध्ये एक जनालाई उम्मेदवार बनाउनेबारे कुराकानी भइरहेको छ, दुवै जना पार्टीकै सम्पर्कमा हुनुहुन्छ र उहाँहरूले चुनावी गतिविधिसमेत गरिरहनु भएको जानकारी पार्टीलाई छ,’ ती पदाधिकारीले भने, ‘दुवै छोरा उत्तिकै दाबेदार रहेको र स्थानीय बासिन्दा भेटेर गतिविधिसमेत गरिरहेकोले कसलाई उम्मेदवार बनाउने भन्ने चाहिँ पार्टीलाई अप्ठेरो परेको छ। दुवै जना मिलेर आएमा पार्टीलाई सजिलो हुने थियो।’
दीपक बोहराका छोरा दुवै जना चुनावी तयारीमा रहेकोले उनीहरू आमनेसामने हुने चर्चा समेत हुन थालेको छ।
राप्रपाले दुवै छोरालाई मिलाउन नसकेका खण्डमा दीपक बोहराकी नातिनीसमेत रहेकी पार्टीकी केन्द्रीय सदस्य स्वाती थापालाई उम्मेदवारमा अघि सार्न सक्छ।
गत चुनावमा चुनावमा पनि हजुरबुवा दीपक बोहरालाई उनकी दाजुकी छोरीकी छोरी (नातिनी) स्वाती थापाले नै जिताउन भूमिका खेलेकी थिइन्। उनी चुनावको ‘कमाण्डर’ थिइन्, दीपक बोल्न नसक्ने भएकोले अधिकांश मञ्चमा उनैले भाषण गरिन्।
त्यसबेला बाबुलाई सहयोग गर्न छोरा गौरव पनि चुनावी प्रचारका कार्यक्रममा हिँडेका थिए। गौरव बुद्ध एयरका सिनियर क्याप्टेन हुन्।
गौरव अहिले उम्मेदवार हुन गतिविधि बढाइरहेका छन् भने राप्रपासहित अन्य दलसँग पनि सम्पर्कमा रहेको पाइएको छ।
राप्रपाबाट टिकट पाइएन भने उनको नजर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर पनि रहेको स्रोत बताउँछ। उनी रास्वपाको पनि सम्पर्कमा रहेको रास्वपाकै एक नेताले दाबी गरे।
भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई गौरवले बेलाबखत भेटघाट पनि गर्दै आएका छन्। रास्वपाका अरू नेताहरूसँग पनि सम्पर्कमा छन्।
‘पार्टी सभापति एवम् नेताहरूसँग कुराकानी हुने गरे पनि उनीसँग पार्टीले उपचुनावकेन्द्रित कुराकानी गरेको छैन। अरू दलहरूले कसरी उम्मेदवारी अघि सार्छन्, त्यसपछि हामी रणनीति बनाउने छौं,’ रास्वपाका एक नेताले सेतोपाटीसँग भने।
दीपक बोहराका अर्का छोरा प्रज्ज्वल आइटी इन्जिनियर हुन्। उनी पनि रूपन्देही ३ मा चुनाव उठ्न चाहन्छन्। बाबु पोस्ट कोभिडले थला परेपछि उनी अमेरिकाबाट स्वदेश फर्केका थिए भने त्यसपछि राप्रपाले गर्ने कार्यक्रमहरूमा सहभागी हुन थालेका थिए।
दीपक बोहराका दुई श्रीमती (मन्जु र उन्नति शिला), दुई छोरा र एक छोरी रहेकोमा छोरीको मृत्यु भइसकेको छ।
रूपन्देही ३ मा दीपक बोहराकै दुवै छोरा आकांक्षी रहेकोले यहाँ उम्मेदवार टुंग्याउन राप्रपालाई सकस पर्ने देखिएको छ। राप्रपाले बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेको छ। उक्त बैठकमा रूपन्देहीमा हुने उपनिर्वाचनबारे कुराकानी हुनेछ।
‘सकेसम्म दीपक बोहराकै परिवारभित्रबाट उम्मेदवार बनाउँछौं, त्यहाँ उनीहरूकै परिवारको राम्रो माहोल देखिन्छ, त्यो भएन भने राप्रपा रूपन्देही सभापति वा पार्टीका सल्लाहकारसमेत रहेका पूर्वगृहमन्त्री निरञ्जन थापालाई उम्मेदवार बनाउने तयारी छ,’ राप्रपा रूपन्देहीका एक पदाधिकारीले भने।
दीपक बोहरा ५० वर्षभन्दा लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय थिए।
उनी २००७ सालमा पाल्पामा जन्मेका थिए। १७ वर्षको उमेरदेखि नै उनी राजनीतिमा सक्रिय थिए। पछि उनको परिवार भैरहवा झरेको थियो।
बोहरा पञ्चायतकालमा राष्ट्रवादी विद्यार्थी मण्डलका नेता भए। पञ्चायत सदस्य हुँदै उनी २०३८ र २०४० सालमा पर्यटन राज्यमन्त्री बनेका थिए।
उनी २०६७ सालमा वन तथा भू-संरक्षण मन्त्री बनेका थिए भने सोही साल राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षसमेत भएका थिए।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा बोहरा रूपन्देही क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य निर्वाचित भए। त्यसको दुई वर्षपछि उनी श्रम तथा रोजगार मन्त्री बने भने २०७३ मा आपूर्ति मन्त्री बनेका थिए।
२०७४ सालमा राप्रपा फुट्यो। कमल थापाको साथ छाडेर बोहरा पशुपति शम्शेर जबराको नेतृत्वमा गठन भएको राप्रपा (प्रजातान्त्रिक) मा गए। त्यहाँ उनी वरिष्ठ उपाध्यक्ष र संसदीय दलका नेता बनेका थिए। त्यसबेला राप्रपा (प्रजातान्त्रिक) मा १८ जना सांसद थिए। त्यसबेला बोहरा स्वास्थ्य मन्त्री पनि बने।
तर यो पार्टीमा बोहरा धेरै समय बसेनन्। कमल थापा नेतृत्वकै राप्रपामा फर्किए। २०७५ फागुन १२ गते पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनीलाई छाडेर बोहरा कमल थापा नेतृत्वको पार्टीमा फर्किएका थिए भने २०७९ को चुनावमा राप्रपाबाट प्रतिनिधि सभा सांसद जितेका थिए।
बोहराको निधनसँगै हुन लागेको उपनिर्वाचनमा पनि उनकै परिवारका सदस्यहरूलाई दलहरूले उम्मेदवार बनाउन तानातान गरेका छन्।
रूपन्देही ३ को उपनिर्वाचनमा दलहरूले गठबन्धन गर्छन् कि आ-आफ्नो उम्मेदवार उठाउँछन् यकिन भइसकेको छैन।
मधेसकेन्द्रित ६ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले गठबन्धन गरी उम्मेदवारी दिनेबारे छलफल गरेको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट साझा उम्मेदवार तय गर्ने तयारीमा मोर्चा छ भने मोर्चामै रहेको जनमत पार्टीले यो प्रस्ताव स्वीकार गरेको छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएको यो क्षेत्रमा २०७९ मा नागरिक उन्मुक्तिका तुलसीप्रसाद थारू चौथो भएका थिए। उनले ४ हजार ७५१ मत ल्याएका थिए। बोहराले ३६ हजार ७१७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ३६ मत ल्याएका थिए। त्यो निर्वाचनमा एमालेले राप्रपालाई सघाएको थियो भने कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार खाण थिए।
यद्यपि त्यतिबेला त्यहाँ माओवादी केन्द्रको मताधिकार भने कमजोर देखिएको थियो।
पहिलो पटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जितबहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत प्राप्त गरेका थिए भने जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत प्राप्त गरेका थिए।
समानुपातिकतर्फ भने मत परिणामको दृश्य फरक थियो। २०७९ को निर्वाचनमा रूपन्देही–३ मा नेपाली कांग्रेस पहिलो थियो। उसले २० हजार २७९ मत प्राप्त गरेको थियो। दोस्रो स्थानको एमालेले १६ हजार ९८६ मत प्राप्त गरेको थियो। तेस्रो मत ल्याएको रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो।
राप्रपाले ९ हजार १५४ मत ल्याएको थियो। नाउपाले ६ हजार १०, जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३, जनमतले ३ हजार ६३२ र माओवादी केन्द्रले २ हजार ६३७ मत ल्याएको थियो।
रूपन्देही ३ मा नेकपा (एमाले) बाट पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराई, पोलिट्ब्युरो सदस्य ददिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोखरेल र हरि अधिकारी लगायतको चर्चा छ। यद्यपि एमालेले मातहत कमिटीबाट उम्मेदवारको सिफारिस गरी पठाउन निर्देशन दिइसकेको छैन।
साउन २ गते पोलिट्ब्युरो र साउन ५ गते केन्द्रीय समिति बैठकपछि मात्रै यसबारेमा छलफल हुने एमालेले जनाएको छ।
नेपाली कांग्रेसबाट बालकृष्ण खाणसहितको चर्चा छ। तर खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकोले उनलाई कांग्रेसले टिकट दिन्छ कि दिँदैन यकिन छैन। कांग्रेसले मातहत समितिबाट उम्मेदवारहरूको आकांक्षीको नामसमेत मागेको छैन। तर खाण रूपन्देही ३ को उपनिर्वाचनबाट राजनीतिमा पुन: सक्रिय हुन चाहिरहेका छन्। उनी पछिल्लो समय रूपन्देहीमा पार्टीले गर्ने कार्यक्रममा भाग लिइरहेका छन्।
रूपन्देही कांग्रेस सभापति बालकृष्णकै भाइ रामकृष्ण खाण छन्। उनी तिलोत्तमा नगरपालिकाका मेयर हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा खाण सात महिना कारागार बसेर २०८० मंसिर २८ मा उच्च अदालत पाटनबाट ३० लाख धरौटीमा छुटेका थिए, उनको मुद्दा अदालतबाट टुंगिसकेको छैन।
रूपन्देही ३ मा एकीकृत समाजवादीबाट घनश्याम भूसाल उम्मेदवार हुने चर्चा छ। यसअघि २०७९ को चुनावमा डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि उम्मेदवार हुने तयारीमा छन्। उनले रास्वपाका सांसद गणेश पराजुलीसँग हालै भेटेका थिए। आफूलाई रास्वपाले समर्थन गरिदियोस् भन्ने चाहना ढकालको छ।
माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' लाई उम्मेदवार बनाउन खोजेको चर्चा पार्टीभित्र हुन थालेको छ।
यो पनि: रास्वपाले रूपन्देही ३ मा सागर ढकाललाई उम्मेदवार बनाउन लागेको हो?