नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई धोका दिने गठबन्धनविरूद्ध उम्मेदवारी दिएकाहरूलाई कारबाही गर्न नहुने बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले नेतृत्वले गल्ती गर्दा कार्यकर्तामाथि कारबाही गर्न नहुनेसमेत बताए।
‘गत निर्वाचनमा हामी माओवादीसँग मिल्यौं। माओवादीले धोका दिएपछि एमालेसँग मिल्यौं। हाम्रो काम नै धोका खाने भयो। धोका नखानका लागि पार्टीलाई आत्मनिर्भर बनाउनुपर्छ। हामीले दूरदर्शिता देखाउन सकेनौं,’ कोइरालाले भने, ‘नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तामाथि कारवाहीको डण्डा बर्साउने? यो हुँदैन। कांग्रेसको उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिन पाइँदैन तर पार्टीलाई धोका दिने गठवन्धनविरुद्ध उम्मेदवार बनेकाहरूलाई कारबाही गर्न हुँदैन। उनीहरुको कारबाही फुकुवा हुनुपर्छ।’
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कोइरालाले चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका थिए। उक्त क्षेत्र कांग्रेसले गठबन्धन गर्दै नेकपा (माओवादी केन्द्र) लाई छाडेको थियो। पार्टी निर्देशन नमानेको भन्दै कोइरालालाई कांग्रेसले त्यसबेला कारबाहीसमेत गरेको थियो।
तर कोइरालाले २०८० वैशाखमा चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि भने कांग्रेसका पक्षमा मत माग्दै अपिल जारी गरेका थिए। २०८० साउनमा कांग्रेसले कोइरालामाथि गरेको कारबाही फुकुवा गरेको थियो भने सोही वर्ष असोजदेखि उनी केन्द्रीय समिति बैठकमा सहभागी हुन थालेका थिए।
पार्टीले गठबन्धन गरी अर्को पार्टीलाई छाडेको ठाउँमा उम्मेदवारी दिएका कोइरालाले गठबन्धनलाई धोका दिनेविरूद्ध उम्मेदवारी दिँदा कारबाही गर्न नहुने बताएका हुन्।
उनले चुनावका बेला पार्टीले नयाँ मानिसलाई उम्मेदवार बनाउने गरेकोमा पनि विरोध गरेका छन्।
‘आजकाल विश्वभरि हाइपर सोनिक मिसाइलको खुब चर्चा छ। कांग्रेसका कार्यकर्ताहरूले यस्ता हाइपर सोनिक मिसाइल धेरै पटक देखेका भोगेका छन्। चुनावका बेला एकजना अब्बल मानिस आकाशबाट हाइपर सोनिक मिसाइल जसरी फ्याट्ट झर्छ। उ त्यतिकै झरेको हुँदैन, साथमा टिकट पनि बोकेर झरेको हुन्छ। हाइपर सोनिक मिसाइलले बम बारूद बोकेर झरेको हुन्छ भने हाइपर सोनिक मानिसले चाहिँ टिकट बोकेर झरेको हुन्छ। जिल्लामा, क्षेत्रमा हाइपर सोनिक मानिसले ल्याएको टिकटले बमको जस्तै काम गर्छ। त्यसपछि जिल्लाका कार्यकर्ताहरू हाहाकार मच्चिन्छ, यस्तो धेरैतिर भएको छ।
हाइपर सोनिक मानिसले टिकटका कैयन दावेदारहरूलाई पाखा लगाइदिन्छ, कार्यकर्ताको सपना भत्काइदिन्छ, नयाँ बातावरण सिर्जना गरिदिन्छ। त्यसपछि हाइपरसोनिक उम्मेदवारले चुनाव लड्छ। जित्यो भने आफ्नै कारणले जितेको भन्छ। भविष्यमा तगारो बन्न सक्ने प्रतिस्पर्धीमाथि कारवाहीको डण्डा चलाउँछ। हार्यो भने त झन् कुरै भएन, आफ्ना कारणले हारेको स्वीकार्दैन, कार्यकर्ताको कारणले हारेको भन्छ र कारबाहीको डण्डा चलाउँछ। ओठमा जुँगाको रेखा नबस्दैदेखि कांग्रेसमा लागेर युग बिताएको मानिसलाई हाइपरसोनिकले कारबाहीको डण्डा चलाउँछ,’ उनले भने।
उनले पार्टीलाई चन्दा दिएकोमा गर्व गर्ने मानिस पनि रहेको उल्लेख गरे।
‘राजनीतिक दललाई चन्दा दिनु राम्रो हो। चन्दा कति पारदर्शी तरिकाले दिइएको छ भन्ने पनि हेक्का राख्नुपर्छ। मैले चन्दा दिएको छु, त्यसैले मलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस गर्न हुँदैन। मैले चन्दा दिएको छु, त्यसैले मैले जे गरे पनि हुन्छ भन्न हुँदैन। मैले चन्दा दिएको छु त्यसकारण मैले ताकिताकि छानीछानी कारबाहीको डण्डा चलाउँछु भन्न हुँदैन। प्रतिस्पर्धीलाई रोजीरोजी कारबाहीको डण्डा चलाउँछु भन्न हुँदैन,’ उनले भने।
उनले विनोद चौधरीले आफूलाई अब्बल मानिस भनेको र वास्तवमा अब्बल नै रहेको पनि बताए।
‘नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा उहाँको ठूलो योगदान छ। उहाँजस्तो अब्बल मानिस विवादमा पर्नुभएकोमा मलाई दुःख लागेको छ। अब म जे भन्न गइरहेको छु, विनोद चौधरीको विरोध गरेको नठानियोस्। म उहाँको प्रशंसक नै हो। पार्टीको सांसद्का रूपमा उहाँ जति सफल बन्नुहुन्छ, हाम्रो पार्टी त्यति सफल हुन्छ। म फेरि पनि भन्छु, उहाँ अब्बल मानिस हो। यति अब्बल मानिसले अलि हाइ लेभलको स्तरीय राजनीति गर्नुहुन्छ भन्ने मलाई लागेको थियो र अझै पनि लागेको छ।
विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जबाफमा विनोदले आठ वटा प्रश्न उठाउनुभयो। शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो। शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरू संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो। कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो। शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो? उहाँलाई मत दिने सबै संकीर्ण हुन्? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो। कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरू उच्च कदर गरिन्छ। चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गर्नुभएको हो तर शेरबहादुरले जित्नुभयो,’ उनले भने।