नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी र देशले सभापति शेरबहादुर देउवाबाट धेरै अपेक्षा गरेको बताएका छन्।
शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कार्कीले भने, ‘देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको सभापति (शेरबहादुर देउवा) हुनुहुन्छ, उहाँको नेतृत्वमा कांग्रेस मात्रै होइन, देशले धेरै अपेक्षा गरेको छ।’
उनले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको पनि बताए।
‘कतिपय सन्दर्भमा कांग्रेसलाई आफैबाट चुनौति छ। यस्तो अवस्थामा कांग्रेस विभाजित होइन, एक ढिक्का भएर अगाडि बढ्नुपर्दछ। अहिलेको समयको आवश्यकता हो। आमनागरिकमा अझै पनि कांग्रेसमाथि विश्वास छ,’ उनले भने, ‘जनमत कांग्रेसकै पक्षमा छ।’
उनले १५ औं महाधिवेशन समयमा हुन्छ कि हुँदैन भनेर बहस गर्नुको अर्थ नरहेको पनि बताए।
‘महाधिवेशन हामीले नै गर्ने हो। बाहिर मिडियामा महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न गर्नुको साँटो हामी सबैले महाधिवेशन गर्नेतर्फ लाग्नु पर्दछ। महाधिवेशन गर्ने जिम्मेवारी एक जना सभापतिको मात्रै होइन, यो सिंगो कार्यसमितिकै हो। १४ औं महाधिवेशनका बेला पनि सभापतिज्यूमाथि महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न उठाइने गरिन्थ्यो तर बैधानिक समयमै महाधिवेशन गराउनुभयो। त्यसैले १५ औं महाधिवेशन केवल औपचारिकताका लागि मात्रै होइन, यो देशको भविष्य कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव छ भन्ने सन्देश दिने गरी हामीले वडातहदेखि अधिवेशन गर्नुपर्दछ,’ उनले भने।
उनले सोसल मिडियाले जनमत बनाउन भूमिका खेल्ने भएकाले वडा तहबाटै संगठित रूपमा सोसल मिडिया सञ्चालनको अभ्यास थाल्नुपर्ने बताए।