उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समृद्धिका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताएका हुन्।
‘समृद्धिका निम्ति हामीसँग अरू विभिन्न कुराहरू छन्। त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो। यसको अनगिन्ति सम्भावना छ। हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने।
देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको पनि उनले बताए।
‘हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन। राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने, स्वदेश र विदेशका निजी क्षेत्रलाई जाउँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ,’ उनले भने, ‘पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ। त्यही हिसाबले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौं।'