मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।
शनिबार अपराह्न सवा ३ बजे मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाएर एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा पर्साको बीरगन्ज महानगरपालिका-५ का अन्दाजी ४५/५० वर्षीय पुरूषोत्तम शर्मा छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार पुरूषोत्तम गाडी रिजर्भ गरेर आफ्ना साथीहरूसँग बनभोज खान वीरगन्जबाट टौबास पुगेका थिए।
बनभोज खाएर रमाइलो गरेपछि उनी ४/५ जना साथीलाई लिएर नुहाउन खोलामा गएका थिए। नुहाएर फर्कने क्रममा खोला तर्दै गर्दा खोलाको बहाब बढेपछि उनीलाई बगाएको थियो।
खोलाले बगाएर ४०० मिटर तल पुर्याएपछि उनको मृत्यु भएको भनेर उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए।
सूचनापछि घटनास्थलमा प्रहरी परिचालन गरिएको डिएसपी अर्यालले जानकारी दिए।