नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै बेला आफूले गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाहलाई एउटै भनेको बताएका छन्।
शनिबार स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीबाट निकालेका कारण कोइराला र प्रधानमन्त्रीबाट निकालेका कारण ज्ञानेन्द्र एउटै हुन् भनेको बताए।
'स्व. गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो,' उनले भने।
उनले स्व. कोइराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति नरहेको बताए। त्यसकारण गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने उनको भनाइ थियो।
'उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो । अरु पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो । गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो,’ उनले भने।
—न्युज एजेन्सी नेपाल