नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अनुशासनका नाममा पार्टीभित्र एकपक्षीय कारबाही भइरहेको बताएका छन्।
आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहार देखिएको छ। अनुशासनका नाममा एक पक्षीय कारबाही भएको छ। यसले निराशा मात्रै बढाउँछ।’
अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागू हुनुपर्ने पनि उनले बताए।
साथै साउदले दुईतिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेको पनि बताए।
‘दुईतिहाइको सरकार बनेपछि सहमतिअनुसार संविधान संशोधनबारे छलफल अघि बढ्नुपर्थ्यो, त्यसमा ढिलाइ भएको छ,’ उनले भने।
साउदले २०८४ सालमा हुने आमनिर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन्।
वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले पार्टी संगठन कमजोर बन्दै गएको बताएका थिए।
‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो,’ उनले भने।