काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरका बारेमा बोलेका छन्।
उनले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट निरन्तर रूपमा विभिन्न खालका आरोप र टीकाटिप्पणी हुन थालेपछि बाध्य भएर बोलेको बताएका छन्।
केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं टावरको नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति पनि आक्रोश व्यक्त गरे।
‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो। मैले नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ उनले भने, ‘म फेरि पनि भन्छु। मैले पहिलाका निर्णयलाई निरन्तरता मात्रै दिएको हो। त्यसमा मेरो दोष छैन। सम्बन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानून र प्रक्रियामा दोषी प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु तर अहिले जुन ढंगबाट लाञ्छना लगाउने काम भएको छ त्यो गलत छ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने, 'काठमाडौं टावरको नक्सा स्वीकृतको कागजपत्र हेर्ने हो भने तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (बसन्त अधिकारी)लाई सम्बोधन गरेर उठाएको फाइल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हस्ताक्षर गरेर ‘नगर प्रमुखज्यू पेस भए बमोजिम जरिवाना तोक्न निर्णय प्रस्तुत गरेको छु’ भन्दै २०८० मंसिर २७ गते मेयर बालेन शाहलाई पठाएको देखिन्छ।'
'उक्त फाइल मेयर शाहकोमा पुगेपछि शाहले पुस २ गते पाँच लाख जरिवानासहित स्वीकृत गरेको थियो। सोही अनुसार फाइल स्वीकृत गरेको हो,' उनले अगाडि भने।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफ्ना तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै आफ्ना कारणले बजेट रोकिनु नहुनेमा जोड दिए।
‘म बजेट आउनुपर्छ भन्नेमा छु। मेयर साब तथा उपमेयरज्यू र जनप्रतिनिधिका निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु,’ उनले भने, ‘तर, अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने लाग्छ। कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने बित्तिकै ऊ भ्रष्टाचारी हुँदैन।’
उनले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको पनि स्मरण गरे।
‘व्यक्ति तोकेर बिना कुनै आधार तँ भ्रष्टाचारी हो भनेर तोक्न मिल्छ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ उनले भने, ‘त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ। यदि तपाईंलाई कसैले बिना प्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नुहुन्छ? मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि! अनि मेयरको सचिवालयको हवला दिँदै मलाई आरोप लगाउने कुरा कसरी ठिक हुन्छ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि? आधिकारिक निकाय हुन्छ होला। उसले मेरो बारेमा छानबिन गरिरहेको होला नि? होइन?’
उनले काठमाडौं टावरका सन्दर्भमा निर्णय भैसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरूबाटै भैसकेको भन्दै पटक–पटक आफूमाथि किन प्रहार भैरहेको छ त्यो राजनीति भने नबुझेको उल्लेख गरे।
यो पनिः
पहिले बालेनले दिएका थिए स्वीकृति, यसपालि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गरे नक्सा पास