विद्यालय शिक्षा विधेयक पारित गर्न भनेर बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ।
समितिको आइतबारको बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने भने पनि केही विषय टुंगिन बाँकी रहेकोले स्थगित गर्ने प्रस्ताव आएको थियो।
यो पनि: आज पनि विद्यालय शिक्षा विधेयक समितिबाट पारित नहुने, शिक्षा मन्त्रीले मागे समय
समितिका सभापति अम्मरबहादुर थापाले कुरा राख्न नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई सुरूमा समय दिएका थिए।
घिमिरेलाई सभापति थापाले समितिको सदस्यका रूपमा बोल्न समय दिनुपर्नेमा कुनै दलको प्रमुख सचेतकको रूपमा बोल्न दिएको भन्दै सांसद रेखा शर्माले असन्तुष्टि जनाएकी हुन्।
त्यसपछि समिति सभापति थापाले आफूले समिति सदस्य भन्नुपर्नेमा प्रमुख सचेतक भनेकोले माफी मागेका थिए।
सांसद शर्माले कुनै दलको प्रमुख सचेतकको ह्विप मान्न हामी तयार छैनौं भनेकी थिइन्। कांग्रेस प्रमुख सचेतक घिमिरेले केही विषयमा नेपाल शिक्षक महासंघसँग अझै छलफल गर्नुपर्ने कुरा राखेका थिए।
त्यसपछि बोलेका कांग्रेस प्रमुख सचेतक घिमिरेले यसरी अपमानित गरेर बोल्न पाइँदैन भनेका थिए।
सांसद शर्माले भने विद्यालय शिक्षा विधेयक आज पारित गर्ने भनेर सभापतिले बोलाएको तर स्थगितको प्रस्ताव राखेको भन्दै समिति कसको कन्ट्रोलमा छ भन्दै प्रश्न गरेकी थिइन्।
कांग्रेस प्रमुख सचेतक घिमिरे बसेको ठाउँबाट उठेर आफ्नो झोला तान्दै आफ्नो फरक मत रहन्छ भनेर बैठकबाट निस्कन खोजेका थिए।
लगत्तै सभापति थापाले घिमिरेलाई आफ्नो ठाउँमा बस्न आग्रह गरेका थिए।
माओवादी सांसद शर्माले विद्यालय शिक्षा विधेयकमा टुंगिएको विषय उत्खनन् गर्न खोजिएको बताएकी थिइन्।
‘मन्त्री र प्रमुख सचेतकले विधेयक रोकौं भन्नुहुन्छ, सभापतिले पारित गरौं भन्नुहुन्छ, समिति सभापतिको कन्ट्रोलमा छ कि छैन,’ उनले प्रश्न गरिन्।
भिडिओ: