सर्वोच्च अदालतमा नवनियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
न्याय परिषद्ले गत जेठ २७ गते उनीहरूलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो।
नवनियुक्त न्यायाधीशहरू आजदेखि नै इजलासमा बसेका छन्।
मंगलबार बिहान पद तथा गोपनीयताको शपथपछि गोलाप्रथाबाट इजलास गठन गरिएको हो।
नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च शेयर गर्दैछन्।
त्यस्तै, नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश डा. मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च सेयर गरेका छन्।