राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन गएकाहरू फर्किएनन् भन्ने आफ्नो आसय प्रस्टोक्ति दिएकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले प्रधानमन्त्री ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी थिइन्।
'प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू स्वदेश नफर्किएको समाचार आएका छन्' सांसद गौतमले भनेकी थिइन्।
‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो,’ सांसद गौतमले भनेकी थिइन्।
यसको केहीबेरमा नेकपा (एमाले) का सांसद दामोदर पौडेल 'बैरागी'ले रास्वपालाई प्रधानमन्त्री ओलीमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका थिए।
'यो विषय उहाँले किन राख्नुभयो? केका आधारमा राख्नुभयो? उहाँले राखेको विषय उहाँले पुष्टि गर्न पर्छ कि पर्दैन? जतिखेर जुनकुरा मन लाग्यो, जसलाई आरोप लगाउन मन लाग्यो त्यो कुरा राख्ने र सदन बहिस्कार गरेर हिँड्ने!,' उनले भनेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयले पनि प्रधानमन्त्रीसँग स्पेन गएका सबै स्वदेश फर्किएको बताएको थियो।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले भने, ‘प्रधानमन्त्रीज्यूको स्पेन भ्रमणमा गएका को फर्कनुभएन, उहाँले नाम बताइदिनुपर्यो।’
प्रधानमन्त्रीका प्रेस संयोजक बजगाईका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा नेपालबाट स्पेन गएको टोलीमध्ये फर्कने बेला अझै दुई जना थपिएर फर्केका छन्।
‘यहाँबाट गएकोभन्दा अझै उताबाट दुई जना थपिएर फर्केका छन्, उहाँ दूतावासमा भएका दुई जना पनि सँगै फर्केका हुन्, यहाँबाट गएको नफर्केको त एक जना पनि छैन,’ बजगाईले भने, ‘यो हल्ला चलाउन रेणु दाहालको सचिवालयबाट सुरू भएको हो, त्यसपछि दीपशिखाले पनि स्टाटस लेखे। प्रधानमन्त्री स्वदेश फर्केकै दिनदेखि यस्तो हल्ला चलाउन सुरू गरेका थिए। कुन नाम गरेको मानिस नफर्केको हो भनेर माननीय सोबिता गौतमजीले भन्नुपर्यो।’
सांसद गौतम प्रतिनिधि सभामा बोलेपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही बोलेका थिए। त्यसपछि रास्वपा र राप्रपा सांसदहरूले आजको प्रतिनिधि सभा बैठक पनि बहिस्कार गर्दै सदनबाट बाहिरिएका थिए।
संघीय संसद भवन परिसरमा रास्वपा सांसद सोबिता गौतमले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीसँग स्पेन गएका मानिस फर्किएनन् भन्ने आफ्नो आसय नरहेको प्रस्टोक्ति दिइन्। पत्रकारहरूले उनीसँग यसबारे केही प्रमाण छन् भनेर सोधेका थिए।
‘५५ जनालाई भिसा दिएर पनि रद्द गरिदिएको रहेछ, उहाँहरूको नाम त भन्न मिल्दैन,’ उनले भनिन्, ‘सिभिल सोसाइटी लगायतबाट पत्र बनाएर गएछन्। युएनबाट उनीहरू हाम्रो कार्यक्रममा आउन लागेको होइन भनेपछि भिसा रिमुभ भएको रहेछ, केही मानिस त गइसकेका थिए, यो गम्भीर विषय हो भनेर मैले भनेकी हुँ। प्रधानमन्त्रीसँग गएका मानिस फर्किएनन् भन्ने मेरो आसय होइन।’
तर यसरी कार्यक्रमको बहानामा नेपालीहरूलाई विदेश लैजान क-कसको हात छ भनेर अनुसन्धान भने गर्नुपर्ने सांसद गौतमले बताइन्।
‘यसरी लैजानेमा क कसको हात होला अनुसन्धान गर्नुपर्यो। युएनको कार्यक्रममा सयौं मानिस जान्छन्। कार्यक्रम बहानामा जाने र लुक्ने गर्नुहुन्छ,’ उनको भनाइ थियो।
भिडिओ: