राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिएर 'प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू स्वदेश नफर्किएको समाचार आएका छन्' भनिन्।
प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन गएर असार २० गते स्वदेश फर्किएका थिए।
‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्ने लगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो,’ सांसद गौतमले भनेकी थिइन्।
भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेको विरोधमा रास्वपा र राप्रपा सांसदले आज पनि प्रतिनिधि सभा बैठक बहिस्कार गरेका थिए। रास्वपाबाट गौतम र राप्रपाबाट प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुरा राखेपछि दुवै पार्टीका सांसदहरू बैठकबाट बाहिरिएका थिए।
यसको केहीबेरमा नेकपा (एमाले) का सांसद दामोदर पौडेल 'बैरागी'ले रास्वपालाई प्रधानमन्त्री ओलीमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिए। 'यो विषय उहाँले किन राख्नुभयो? केका आधारमा राख्नुभयो? उहाँले राखेको विषय उहाँले पुष्टि गर्न पर्छ कि पर्दैन? जतिखेर जुनकुरा मन लाग्यो, जसलाई आरोप लगाउन मन लाग्यो त्यो कुरा राख्ने र सदन बहिस्कार गरेर हिँड्ने!,' उनले भनेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयले पनि प्रधानमन्त्रीसँग स्पेन गएका सबै स्वदेश फर्किएको बताएको थियो। प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले भने, ‘प्रधानमन्त्रीज्यूको स्पेन भ्रमणमा गएका को फर्कनुभएन, उहाँले नाम बताइदिनुपर्यो।’
संघीय संसद भवन परिसरमा रास्वपा सांसद सोबिता गौतमले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीसँग स्पेन गएका मानिस फर्किएनन् भन्ने आफ्नो आसय नरहेको प्रस्टोक्ति दिएकी थिइन्। तर उनले ५५ जनाको भिसा रिभोक भएको भनेर आएको पनि बताएकी थिइन्।
यसबारे सांसद सोबिता गौतमसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश;
तपाईंले संसदमा मानव तस्करीको विषय उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा पनि त्यस्तो खालको घटना भयो, भिजिट भिसामा गएका मान्छे फर्केनन् भन्नुभयो। प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्रीले नै त्यसरी मान्छेहरू लगेका थिए भन्न खोज्नुभएको हो कि के हो?
हैन हैन, त्यो आशय नै होइन। म भोलि सदनमै पनि भनौँला। मैले संसदमा बोलेको कुरा आफै एकदम स्पष्ट छ। त्यो सुन्यो भने पनि बुझिन्छ। हामी एउटा जिम्मेवार दल भएपछि जिम्मेवार सांसदले आफूले बोलेको कुराको जिम्मा लिनुपर्छ। मैले जतिसम्म जिम्मा लिन सक्छु, त्यति मात्र बोल्ने हो। त्यसमा मैले स्पष्टसँग के भनेको छु भने– सम्माननीय प्रधानमन्त्री जानुभएको त्यो कार्यक्रममा पनि केही नेपालीहरू गएर फर्किएका छैनन् भन्ने सूचनाहरू आएको छ भनेर मैले भनेको हुँ। यो समस्या (भिजिट भिसा प्रकरण) सामान्य होइन। सामान्य समिति बनाएर टालटुल गर्न खोजियो।
एकदम झारा टार्न खोजे जस्तो गरियो तर यो आजको दिनमा पनि चलिराखेको छ। स्वयं प्रधानमन्त्री जानुभएको कार्यक्रममा पनि यस्तो भएछ। नेपालीहरू गएर उतै लुकेका छन् भन्ने सूचना आएको छ। यो विषयमा चाहिँ हाम्रो विरोध छ। हामी निरन्तर रूपमा विरोध गरिराख्या छौँ, आज पनि बहिष्कार गर्छौं भनेर यसरी मैले चाहिँ त्यो बुँदाहरू जोडेको हो।
त्यसमा उहाँहरूले “प्रधानमन्त्री” भन्ने शब्द सुन्नेबित्तिकै पूरै कुरा पनि नसुनिकन उहाँहरू अलि धेरै नै प्रतिक्रियात्मक हुनुभयो जस्तो मलाई लाग्छ। प्रतिवाद गर्ने मान्छेले के बोल्यो भन्ने कुरा अलिकति राम्रोसँग सुनेर प्रतिवाद गरेको भए हुन्थ्यो। अब एमाले पार्टीबाट त्यो उहाँहरूको कमजोरी हो जस्तो मलाई लाग्छ। त्यति अपेक्षा थिएन।
सदनमा उठेको कुरा चाहिँ के भने भन्ने कुरालाई अब मुछ्ने हो, त्यसलाई विवादमा तान्ने हो भने त अन्य तरिकाले भन्न सकिन्छ। उहाँहरूले पनि भन्नुहुन्छ- हामीले पनि भन्न सक्छौं– ‘प्रधानमन्त्रीले लगेकै हो’ भन्ने तरिकाले आरोप हामीले लगाउँला, उहाँहरूले ‘ए आरोप लगाइस्’ भनेर भन्ने खालको झगडा पर्ने किसिमको त्यो एउटा सिन होला, हैन।
तर चाहिँ एउटा जिम्मेवार सांसदको हिसाबले हामीले संसदको मर्यादाभित्र रहेर बोल्ने हाम्रो अभ्यास हो। त्यही अनुरूप चाहिँ मैले यो निरन्तर चलिराख्या छ, भिजिट भिसामा जाने मान्छे लुक्ने, उतै हराउने गिरोह पनि लागेका छन्। स्वयं प्रधानमन्त्री जानुभएको त्यो कार्यक्रम भनेको त्यो ‘ए कार्यक्रम’लाई मैले भनेको हो। त्यो त भाषाले पनि बुझिन्छ। प्रधानमन्त्री भन्ने शब्द सुन्ने बित्तिकै चाहिँ उहाँहरू आत्तिनुभयो, तर्सिनुभयो।
मैले प्रधानमन्त्री अथवा प्रधानमन्त्रीको सचिवालयले लग्यो, उतै राख्यो भनेर भनेकै होइन नि! त्यो आशय नै हैन, त्यो सम्भव पनि छैन। यस्तो सिचुएसनमा 'त्यो गर्यो' भन्ने कुरा– आजको दिनमा इन्फर्मेसन टेक्नोलोजीको जमाना छ। यति धेरै पारदर्शिता छ। प्रश्न उठ्दा खेरि जबाफ दिनुपर्छ भन्ने त्यति त विचार पुर्याउनुपर्छ। हामीले पनि त्यसरी अब नबुझिकन यत्तिकै त भन्दैनौं नि त।
प्रधानमन्त्रीको सचिवालयले चाहिँ त्यो भ्रमण टोलीमा भएका सेनाका मान्छेहरू, परराष्ट्रका अधिकारीहरू सहितको सूची नै पठाएर ‘उहाँहरूमध्ये को फर्किनुभएन, तपाईंले देखाइदिनुस्’ भनेर भन्नुभएको छ। तपाईंले पनि संसदमा उठाएको विषयको त एउटा ओज होला नि त! त्यसको केही पृष्ठभूमि होला नि!
हो, छ। हामीलाई केही सूचनाहरू प्राप्त भाको छ। अब हामी छानबिन गर्ने, अनुसन्धान गर्ने निकाय होइनौं तर केही सूचनाहरू आएको छ। लिस्टहरू नै आएको छ। स्पेनको राजदूतावासले भिसा रिभोक गरेको सूचनाहरू आएको छ। अनि अब केही मान्छे गए, अनि केही मान्छेहरू नक्कली कागजात बनाएर गएका रहेछन् भनेर भिसा रिभोक भयो भन्ने जानकारीहरू आएको छ। तर अब हामी अनुसन्धान गर्ने निकाय होइनौं। हामीलाई त सूचना आयो। त्यो हो कि हैन भन्ने कुरा हेर्ने, त्यसलाई अनुसन्धान गर्ने, त्यसलाई बिन्दुमा पुर्याउने, निर्णयमा पुर्याउने काम त फेरि अनुसन्धान गर्ने निकायले गर्ने होला। त्यो गम्भीर विषयमा मैले त उठान गर्नुपर्यो।
प्रधानमन्त्री जानुभएको कार्यक्रममा यस्तो भएको रहेछ। त्यो कार्यक्रममा यसरी मान्छे पनि गएका रहेछन् भन्ने त मैले पाएको सूचना सदनमा नराखे कहाँ राख्ने? मैले राखेँ। हाम्रो मुद्दा नै यही हो, यही उठान गरिराखेका छौं। यसरी नेपालीहरू बेचिराखिएका छन्, गइराखेका छन्। देशको छविमा असर परिराखेको छ। यसरी नेपालीहरूलाई रिभोक गर्नुपर्ने स्थिति, लुक्ने स्थिति बन्दै गर्दा हाम्रो देशको इज्जत, राष्ट्रको इज्जत कहाँ पुगेको छ? यसमा त हामीले गम्भीर भएर सोच्नु पर्ने विषय हो। मैले हाम्रो पार्टीले उठाइराखेको विषयमा केही सूचनाहरू प्राप्त गरेको आधारमा पुनः त्यहाँ राखेको हो।
भिसा स्थगितको कुरा तपाईंले गर्नुभयो। जो मान्छेहरूको नाम पठाइयो वा जो मान्छेको नाम स्पेनमा दूतावासमा पुग्यो, तिनीहरूको नाम पठाउने क्रममा प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री कार्यालय कुनै रूपमा संलग्न छ?
त्यो थाहा छैन। थाहा छैन है। मैले उहाँहरूले गर्नुभयो पनि भनेको छैन। तर ती मान्छे कसरी नक्कली कागजात बनाएर गए, के भएको थियो भन्ने कुरा अनुसन्धान गर्नुपर्ने विषय होला। उहाँहरूलाई आरोप लगाएको होइन, तर यो विषय अनुसन्धान गर्नुपर्ने विषय हो। उहाँहरूलाई लक्षित गरेर आरोप लगाएको होइन। उहाँहरूले प्रश्नलाई गलत तरिकाले लिएर बचाउमा, रक्षात्मक तरिकाले प्रस्तुत हुनुभयो। प्रश्न नै नगरेका विषयमा त्यसरी रक्षात्मक हुनुभन्दा अनुसन्धान गर्नतिर चाहिँ सरकार लाग्नु पर्थ्यो भन्ने मेरो अपेक्षा थियो। खैर, यस्तो हुन सकेन। यो चाहिँ दुःखको कुरा हो।
सांसदले जनताको कुरा अथवा नेपालमा देखिएका, विदेशमा देखिएका नेपालीसँग सम्बन्धित विषयहरू गम्भीर रूपमा उठान गर्ने हाम्रो अधिकार हो। संसदमा हामी उठान गर्छौं। त्यो विषयलाई यसरी प्रतिक्रियात्मक रूपमा, एकदम रक्षात्मक भएर ‘ए, कसले लग्यो देखा’ भन्ने किसिमले प्रस्तुत हुने काम भयो। त्यो पनि सत्तापक्षको सांसदहरू। सांसदहरूको प्रश्नमा सरकारको जबाफ दिने हो। सत्तापक्षका सांसदहरूले त होइन। हामी त सांसद हो भन्ने कुरा सत्तापक्षका सांसदहरूले त बिर्सिनु भएजस्तो छ। उहाँहरू सांसद नै हुनुहुन्छ, संसदकै अङ्ग हुनुहुन्छ। उहाँहरूले पनि सरकारलाई प्रश्न गर्ने हो। हाम्रो काम समग्र रूपमा सरकारलाई जवाफदेही बनाउने हो। उहाँहरूले यो कुरा बिर्सिनु भएजस्तो छ। सत्तापक्षका सांसदहरू अहिले पूर्णतः सरकारको बचाउमा, डिफेन्स गर्न सेना तयार भए जसरी बस्नु भएको छ। यो चाहिँ हाम्रो संसदीय अभ्यासकै लागि पनि राम्रो विषय होइन।
भिसा रिभोक भएका मान्छेहरू तपाईंको सम्पर्कमा आएका छन्?
हामीलाई सूचना आयो। सूचना मैले अरू कसैबाट पाएको हो। हामीलाई आएको सूचना अनुसन्धान गर्ने निकायले मागेको खण्डमा दिन हामी तयार छौं। हामीलाई शुभचिन्तक कुनै मान्छेले सूचना पठाए। हामीलाई धेरै प्रकारका सूचनाहरू पठाएका थिए। केही मान्छे नक्कली कागजातहरू बनाएर गए, अनि केहीको रिभोक गरिएको सूचनाहरू पाएका थियौं।
तपाईंहरूले पाउनु भएको सूचनामा यस्ता मान्छेको संख्या कति होलान् वा कति छन्?
हामीले पाएको अहिलेको सूचीमा ५५ जनाको भिसा रिभोक भएको भनेर आएको छ। त्यसमा के भनेको छ भने– कति जना मान्छे गइसकेका थिए, ती अब जान बाँकी भए सबै जनाको तौरतरिका हेर्दा खेरि पनि उस्तै खालका मान्छेहरू र थरहरू एकदम मिल्दोजुल्दो छन् भन्ने छ। त्यो संयोग पनि पर्न सक्छ। हामीलाई प्राप्त सूचनाअनुसार दूतावासले ती मान्छेहरूबारे अनुसन्धान पनि गराएको थियो। अनि रिभोक गर्यो भन्नेछ। ती जतिमा मान्छे गइसकेका थिए, उनीहरूको पनि नक्कली डकुमेन्ट हो भन्ने कुरा पुष्टि भएको र बाँकीको रिभोक भयो होला जस्तो लाग्छ। यो त अनुसन्धान गर्नुपर्ने विषय हो।
यो ५५ जनाको नाम चाहिँ कुनै संस्थामार्फत गएको रहेछ कि कुनै व्यक्तिमार्फत गएको रहेछ? के छ तपाईंहरूको सूचना?
यो अहिलेसम्म हामीलाई जानकारी आइसकेको छैन। उहाँहरूको ठ्याक्कै के हो भन्ने कुरो विस्तृतमा थाहा छैन। उहाँहरू कसरी जानुभयो, कुन संस्थाबाट जानुभयो विस्तृत आइसकेको छैन।