नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरू उतै बसेको भन्दै सांसदहरूले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्।
संसदको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको समाचारहरूमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराएकी थिइन्। सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौती दिए।
उनले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गरे।
उनले भने, ‘केही माननीयज्यूहरूले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसदमा राख्नुभएको छ। बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरूले दुरूपयोग गर्दै सम्माननीय प्रधानमन्त्रीज्यू स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ संवद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो। उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरू स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरू यस गरिमामय संसदमार्फत् अभिव्यक्त हुने काम भयो।’
उनले अघि भने, ‘यी विषय असाध्यै निराधार, भ्रामक, कपोलकल्पित र यस्तो गरिमामय संसदमार्फत जिम्मेवार सांसदहरूबाट यस्तो तथ्यहीन कुराहरू गर्ने कुरा आफैमा बेठिक छ। यस्ता तथ्यहीन र भ्रमपूर्ण विषयहरूलाई संसदको रेकर्डबाट हटाइनुपर्छ। को मानिसहरू प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन् ती बोल्ने माननीयज्यूहरूले यो संसदमार्फत संसदलाई जानकारी गराइनुपर्छ। म यसको चुनौती दिन चाहन्छु।’
प्रमुख सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरूपयोग नगर्न पनि चेतावनी दिए।—न्युज एजेन्सी नेपाल
सम्बन्धित समाचार:
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू फर्किएनन्: सोबिता गौतम
सोबिता गौतमको प्रस्टोक्ति- प्रधानमन्त्रीसँग स्पेन गएका मानिस फर्किएनन् भन्ने मेरो आसय होइन
सोबिता गौतमलाई प्रश्न- प्रधानमन्त्रीले स्पेन जाँदा भिजिट भिसामा मान्छे लगेका थिए? (अन्तर्वार्ता)