नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी रहेको बताएका छन्।
उनले संख्याको हिसाबले माओवादी सदनमा तेस्रो स्थानमा रहे पनि राजनीतिको संस्थापन पक्ष आफूहरू नै रहेको पनि उल्लेख गरेका हुन्।
‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौं तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो,’ सामाजिक सञ्जाल फेसबुकमा बुधबार अध्यक्ष प्रचण्डले पोस्ट गरेका छन्।
उनले अरूको जतिसुकै संख्या भए पनि ती शक्ति प्रतिपक्ष रहेको दाबी गरेका छन्।
‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन्। यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो,’ अध्यक्ष प्रचण्डको भनाइ छ।