नेकपा माओवादी केन्द्रको बिहीबारको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए।
अहिले अमेरिका भ्रमणमा रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको अनुपस्थितिका बेला भएको पदाधिकारी बैठकमा भने उनकै विषयले धेरै महत्त्व पायो।
गत साता श्रेष्ठ र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्ता र त्यसबारे चलेको चर्चाले बैठकमा स्थान पाएको थियो।
एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारी र माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच भएको पछिल्लो भेटवार्ताले 'भ्रम सिर्जना गरेको' भन्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बैठकमा लामो ब्रिफिङ गरेको माओवादी नेताहरूले जानकारी दिएका छन्।
उपाध्यक्षसमेत रहेका पार्टी प्रवक्ता अग्नी सापकोटाले भण्डारी र श्रेष्ठबीचको भेटबारे बैठकमा 'सामान्य चर्चा भएको' जानकारी दिए।
'बिहीबारको बैठकमा सामान्य छलफल हुँदा अध्यक्षले एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको लाइनमा, सोचमा फरक छैन भन्नुभएको हो,' उनले भने, 'अरू धेरै छलफल भएन।'
भण्डारी र श्रेष्ठबीच गत साताको भेटपछि वाम एकताको विषयमा चर्चा चलेको र माओवादीको त्यस्तो कुनै योजना नरहेकोबारे अध्यक्षले बताएको सापकोटाले जानकारी दिए।
केही दिनअघि तपाईं आफैले विज्ञप्ति पनि निकाल्नुभयो, बैठकमा पनि अध्यक्षले असन्तोष राख्नुभएको भन्ने कुरा छ नि भन्ने प्रश्नमा सापकोटाले त्यस्तो केही नभएको दाबी गरे।
'सञ्चार माध्यमहरूमा भ्रम हुने गरी समाचारहरू आएकाले विज्ञप्ति निकालिएको हो। सन्तुष्ट, असन्तुष्ट भन्ने केही होइन,' सापकोटाले भने, 'प्रसंगमा त्यस्तो कुरा आएको हो। उहाँहरूको भेटबारे पार्टीलाई जानकारी पनि छैन। सकारात्मक र नकारात्मक भन्ने पनि केही छैन।'
प्रवक्ता सापकोटाले यसो भने पनि सोमबार विज्ञप्ति निकालेर उनले एमालेसँग एकता गर्ने कुनै सोच नभएको बताएका थिए।
दुई नेताबीचको भेटलाई लक्षित गरेर विज्ञप्ति आएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँग अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेको अड्कलबाजी भइरहेको थियो।
'कतिपय सञ्चार माध्यममा वाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव शीर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ,' सापकोटाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो, 'उक्त समाचारमा पूर्वराष्ट्रपति भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख छ। हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं।'
विज्ञप्तिमा थप भनिएको छ, 'साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन। दोस्रो कुरा, एमाले बाहेकका अन्य कम्युनिस्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरूसँग एकताबारे छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि चलेको छैन। यस प्रकारका तथ्यहीन र आधारहीन प्रचारवाजीबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायमा वास्तविकता स्पष्ट पार्न यो विज्ञप्ति प्रकाशित गरिएको छ।'
माओवादीकै एक केन्द्रीय सदस्यले भने पार्टीले विज्ञप्ति निकालेर असन्तोष प्रकट गर्नुको कुनै अर्थ नभएको बताएका छन्।
'प्रचण्डले काँध फेरिफेरि गठबन्धन फेर्दा कतै सल्लाह भयो?,' उनले भने, 'प्रचण्डले जसलाई जहाँ भेटे पनि जे सहमति गरे पनि हुने, अरूले चाहिँ कसैलाई भेट्नै नहुने भन्ने हुन्छ? यो प्रचण्डको अहंकार र सर्वसत्तावादी सोचको उपज हो।'
एमाले वा अन्य वाम नेताहरूसँग भेट्दा वाम एकताको र कांग्रेससँगको भेटमा लोकतन्त्रका पक्षमा एक हौं भन्ने कुरा हुनु सामान्य भएको भन्दै उनले थपे, 'कसैले कसैसँग भेट्न, कुरा गर्नै नहुने भन्ने हुँदैन।'