नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपालिको पार्टी बैठकमा आलोचना खेप्नु परेन।
९ महिनासम्म केन्द्रीय समिति बैठक नराखेको, पदाधिकारी र पूर्वपदाधिकारीसँग मात्रै छलफल गरी महत्त्वपूर्ण निर्णय लिने गरेकोलगायत कुराले केन्द्रीय सदस्यहरू असन्तुष्ट थिए।
तर केन्द्रीय समितिमा कसैले सभापति देउवामाथि रोष प्रकट गरेन।
केन्द्रीय समितिको मुखैमा १३ असारमा चितवनमा देउवाले यस्तो अभिव्यक्ति दिए, जसका कारण उनको प्रशंसा भयो, नेताहरूबाट धन्यवाद पाए, आलोचनासमेत सुन्नु परेन।
सभापति देउवाले ‘म रिटायर्ड हुन लागेको छु, पार्टीलाई एक बनाउने इच्छा छ’ भनेका थिए, नेताहरूले धन्यवाद दिए, देउवालाई केन्द्रीय समिति ‘फेस’ गर्न सहज भयो।
सभापति देउवाको यो अभिव्यक्तिको १६ असारदेखि २३ असारसम्म सानेपामा चलेको केन्द्रीय समितिमा खुबै चर्चासमेत पायो।
२०७८ मंसिरमा १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले समेत ‘पार्टीलाई एकढिक्का बनाएर लैजानु भन्नु भएकोमा सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु’ भनेर केन्द्रीय समिति बैठकमै भनिदिए।
कांग्रेस विधानअनुसार एक व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति हुन पाउँदैनन्। सभापति देउवा दुई पटक सभापति बनिसके। त्यही भएर पनि उनले अवकाशको कुरा निकाले।
तर सभापति देउवा प्रधानमन्त्री हुन पालो कुरिरहेका छन्।
२०८१ असार १७ मा नेकपा (एमाले) सँग ७ बुँदे सहमति गरेका देउवा २०८३ असार मसान्तमा प्रधानमन्त्री हुन कुर्दैछन्।
आफै अवकाशको समय आएको बताएर प्रशंसा बटुलेका सभापति देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले भने छैटौं पटक प्रधानमन्त्री नबन्न सुझाव दिएका छन्।
‘सभापतिज्यू, यहाँले चितवनमा पुगेर अब मेरो अवकाश लिने समय आयो भनेर भन्नुभयो। सइन्द्र राई नाम गरेका एक युवा पत्रकारले अनलाइनखबरमा लेख्नुभएको छ- महाधिवेशन निश्चित नहुँदै देउवाले राजनीतिक अवकाश लिने सन्देश सार्वजनिक गरेर कांग्रेसको लोकतान्त्रिक छविलाई स्थापित गर्ने काम मात्र गरेनन्, जीवनभर अध्यक्ष हुन हत्ते गरिरहेका ओली र प्रचण्डहरूलाई घुमाउरो सन्देशसमेत दिए,’ महामन्त्री शर्माले भने, ‘सभापतिज्यू, मैले यसो सोचेँ- चितवनमा तपाईंले त्यति बोल्दा यत्रो प्रशंसा भयो, प्रधानमन्त्री पद पनि त्याग गर्नुस्।’
देउवाले सभापति र प्रधानमन्त्री पदबाट मात्रै अवकाश लिए पुग्ने भन्दै महामन्त्री शर्माले थपे, ‘अवकाश पदबाट मात्रै लिनुभए हुन्छ, विधानअनुसार अब सभापति बन्न मिल्दैन, प्रधानमन्त्री पनि २०८३ को असारमा पार्टीभित्रकै अर्को साथीलाई प्रस्ताव गर्नुहोस्, हामीलाई राजनीतिक अभिभावक जरूरी छ।’
देशलाई अभिभावकत्वको जरूरी रहेको र त्यो अब जाँदाजाँदै सभापति देउवाबाट सम्भव हुने महामन्त्री शर्माले बताएका थिए।
‘राष्ट्रपति शितल निवासबाट निस्किएर राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ। त्यो अभिभावकत्व जाँदै गर्दा सभापतिज्यूले लिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘पार्टीको नीति र सिद्धान्त ठिकै छ, विवाद केमा छ भन्दै गर्दा पदमा छ। यसलाई मिलाउने कुरामा सभापतिले के सोच्नुभएको छ, केही सोच्नुभएको होला। सबैलाई एक बनाएर आफू प्रधानमन्त्री बन्ने एउटा सुत्र छ तर अर्को सुत्र चाहिँ अरू कसैको नाम प्रस्ताव गर्ने र एक बनाउने पनि हुन्छ।’
महामन्त्री शर्माले पार्टीलाई एकढिक्का बनाउन सभापति देउवाको इच्छा हो भने त्यसका लागि सभापति र प्रधानमन्त्री पद छाडेर पहल गर्नुपर्नेमा जोड दिए। एमालेसँगको सहमतिअनुसार २०८३ असारमा प्रधानमन्त्री पद लिनका लागि कांग्रेस महाधिवेशन बन्धक बनाउन नहुनेतर्फ संकेत गर्दै महामन्त्री शर्माले बरू प्रधानमन्त्री पद नै त्याग गरेर बाटो खुला गरिदिन दबाब दिएका हुन्।
‘म दाबीका साथ भन्न सक्छु कि यो कार्यसमितिभित्र आदरणीय सभापतिज्यूको सबैभन्दा ठूलो शुभचिन्तक, सबैभन्दा खुलेआम शुभचिन्तक विश्वप्रकाश शर्मानै हो,’ शर्माले यसो भन्दै गर्दा केन्द्रीय सदस्यहरू हाँसेका थिए, ‘जसले प्रष्ट भन्छ- पूर्वप्रधानमन्त्रीज्यू, सभापतिज्यू, सबै कुरा गरिसक्नुभएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको प्रशंसाको उचाइ सगरमाथाको उचाइभन्दा माथि हुनुपर्छ।’
चार वर्षे नियमित कार्यकाल सकिन पाँच महिना बाँकी छँदै महामन्त्री शर्माले नेतृत्व र प्रधानमन्त्री पद अब नलिन दिएको सुझावलाई भने देउवाले निको मानेनन्।
महामन्त्री शर्मा बोलेर सक्नेबित्तिकै सभापति देउवाले जबाफ दिन सुरू गरिहाले।
‘मेरो नियमित ४ वर्षे कार्यकाल सकिएकै छैन, विधानअनुसार मैले एक वर्ष थप गर्न पाइहाल्छु, संविधानअनुसार त्यसपछि पनि ६ महिना थप गर्न त पाउँछु,’ आफूलाई विधान र संविधानले दिएका सुविधा देखाउँदै सभापति देउवाले महामन्त्री शर्मालाई जबाफ दिए, ‘म विधान र संविधानअनुसार चल्ने हो, त्यो मान्दिनँ भन्न त पाउँदिनँ। तर मैले के गर्छु भन्ने मैले नै निर्णय गर्ने हो, कसैले छोड भनेर छाड्ने मानिस म होइन, म अप्ठेरो मानिस हुँ नि!, विचार गर्नुहोस्।’
सभापति देउवाले चेतावनीको भाषा बोले पनि ठट्टैठट्टामा यो कुरा भने। गम्भीर कुरा पनि ठट्टा गर्दै भन्ने देउवाको शैली छ। त्यसले गर्दा कांग्रेसभित्र संशय पनि पैदा गरेको छ- सभापति देउवा आफ्नो नियमित कार्यकाल सकेपछि डेढ वर्ष कार्यकाल लम्ब्याउन चाहन्छन् कि उनले यो कुरा जिस्किएर भनेका हुन्?
२०७८ मंसिरमा महाधिवेशन भएकोले देउवाको कार्यकाल २०८२ को मंसिर २४ गते सकिँदैछ। उनले विशेष परिस्थिति देखाएर केन्द्रीय समितिबाट एक वर्ष कार्यकाल थप गर्न सक्छन्, कांग्रेसका विगतका सभापतिहरूले पनि यसै गर्दै आएको नजिरले उनलाई सहज बनाएको छ।
‘सभापति देउवामा २०८४ को चुनावपछि महाधिवेशन लैजान पाए हुन्थ्यो भन्ने पनि छ तर ०८४ को चुनावपछि लैजान पाइँदैन, मिल्दैन, त्यस हिसाबले ०८३ मै १५ औं महाधिवेशन हुन्छ, यो निश्चित हो, केपी ओलीले छाड्नुहोला, धोका दिनुहोला अलग विषय हो तर ०८३ असारमा ओलीले देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने सहमति छ,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘०८३ को असारमा प्रधानमन्त्री बन्न पाउने अवस्था छ भने सभापतिज्यूले त्यसअघि महाधिवेशन गरी अर्कैलाई नेतृत्व त सुम्पनुहुन्न, महाधिवेशनबाट नयाँ सभापति आउने, देउवा नै प्रधानमन्त्रीमा जाने भन्ने त्यस्तो बेला सुहाउँदो पनि नहुन सक्छ, नयाँ सभापति आएपछि संसदीय दल नेता पनि परिवर्तन हुन सक्छ, त्यसैले प्रधानमन्त्री बनिसकेपछि मात्रै महाधिवेशन गर्ने सोच सभापति देउवामा देख्छु।’
प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने सोच भएकैले पनि सभापतिले महामन्त्री विश्वप्रकाश शर्मालाई ‘अहिले नै त्याग गर्न नसक्ने’ सन्देश दिएको उनको बुझाइ छ।
‘सभापतिजीले प्रधानमन्त्री पदकै लागि सिंगो पार्टी र महाधिवेशनलाई बन्धक बनाउन खोजेको देखिन्छ,’ संस्थापनइतर एक नेताले भने, ‘त्यसैले पनि होला- महामन्त्री विश्वप्रकाशजीले मुखै खोलेर प्रधानमन्त्री पद छाडिदिनुस् भनिदिनुभयो। प्रधानमन्त्रीको लोभलाभबाट सभापति देउवा माथि उठिसकेपछि त अधिवेशन ०८२ कै फागुन-चैतदेखि सुरू गर्न सकिन्छ नि!’
नेता शेखर कोइरालाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्रै गर्न माग गरिरहेका छन्।
‘हामी अहिले महाधिवेशनको वर्षमा छौं, ०८२ को मंसिरमै १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु,’ कोइरालाले भने, ‘यदि हुन सक्दैन भने के कारण र किन भन्ने कुरा सभापतिज्यू र पदाधिकारीहरूले चित्तबुझ्दो जबाफ दिनुपर्छ। पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ।’
कोइरालाले ०८२ मंसिरभित्रै महाधिवेशन भने पनि त्यो मितिमा हुने तयारी देखिँदैन, वडादेखि पालिकासम्मका अधिवेशन सुरू हुन सक्छन्।
महाधिवेशनको प्रारम्भिक विन्दु क्रियाशील सदस्यता नवीकरणका काम नै सकिएको छैन। वडाबाट अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनसम्म आइपुग्न झण्डै एक वर्षको समय चाहिने विगतको अभ्यासले देखाउँछ। त्यसैले यो वर्ष मंसिरमा कांग्रेस महाधिवेशन हुँदैन बरू केन्द्रीय समिति बसेर कार्यकाल एक वर्ष थप्छ।
प्रवक्ता प्रकाशशरण महतले पनि एक वर्ष कार्यकाल थपिने कुरा पटक-पटक बताइरहेका छन्।
महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमै असोजसम्म क्रियाशील सदस्यता नवीकरण सक्ने र त्यसपछि बस्ने केन्द्रीय समितिले महाधिवेशनको तिथिमिति तोक्ने भएकोले क्रियाशील नवीकरणमै मेहनत गर्न नेताहरूलाई आग्रह गरेका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले भने क्रियाशील सदस्यताका काम सकिएपछि केन्द्रीय समितिबाट महाधिवेशन मिति तोकेर आवश्यक तयारी गर्दै पार्टीका तल्ला निकायबाट अधिवेशन सुरू गरिने बताएका छन्।
‘०८२ सालको चैततिर गाउँ-नगर अधिवेशन गरेर ०८३ को वैशाखमा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन गरी भदौको पहिलो साता केन्द्रीय महाधिवेशन गर्न पनि सकिन्छ,’ उनले भने।
कांग्रेसको १४ औं महाधिवेशनमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए। विगतको अधिवेशनमा ८१ प्रतिशत हाराहारी क्रियाशील सदस्यले नवीकरण गरेका थिए। यसपालि करिब ८५ प्रतिशत पुर्याउन कांग्रेसले जमर्को गरिरहेको छ तर कतिपय जिल्लाहरूमा ५० प्रतिशतले पनि नवीकरण गरेका छैनन्, त्यसैले क्रियाशील नवीकरणको समय तीन महिना थप भएको छ।
क्रियाशील नवीकरण सकेपछि नयाँ क्रियाशील सदस्यताबारे निर्णय गर्न, महाधिवेशन मिति तोक्न र देउवाको कार्यकाल थप गर्न मंसिरमा केन्द्रीय समिति राख्ने तयारीमा कांग्रेस छ।
कांग्रेसमा अनुशासनसम्बन्धी २१ सय उजुरी छन्। तीमध्ये असार ९ देखि १७ गतेसम्म बैठक गरी केन्द्रीय अनुशासन समितिले १८ जनालाई अन्तर्घात आरोपमा पार्टीबाट बढीमा एक वर्षसम्मका लागि निस्कासन गरेको छ। नेता शेखर कोइराला पक्षले यस्तो कारबाही अस्वीकार्य हुने भनेर प्रतिवाद गरिरहेका छन्। यसले पनि क्रियाशील सदस्यता नवीकरणलगायत काममा केही दिन बाधा सिर्जना गर्ने नेताहरू बताउँछन्।
ढिलोमा पनि २०८३ मंसिरभित्र १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा कांग्रेस नेताहरू छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि ०८३ को मंसिरअघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।
महामन्त्री गगन थापाले केन्द्रीय समितिको असार २३ गतेको बैठकमा ०८२ मंसिरमा महाधिवेशन हुन सक्ने अवस्था नरहेको बताएका थिए।
‘०८२ मंसिरभित्र महाधिवेशन हुने अवस्था रहेन। ०८३ मंसिरभन्दा उता कानूनले पनि दिँदैन, ०८३ मंसिर पनि नपुर्याई छिटो महाधिवेशन गरियो भने चुनावका लागि समय हुन्छ, कांग्रेसलाई फाइदा पुग्छ,’ महामन्त्री थापाको भनाइ छ।
पार्टीमा नयाँ आउने नेतृत्वलाई पनि चुनावका लागि तयारी गर्न केही समय आवश्यक पर्ने उनको भनाइ थियो।
कांग्रेसमा क्रियाशील नवीकरण र नयाँ वितरण पछि पनि यसलाई लिएर उजुरी पर्ने गर्छ। हरेक महाधिवेशनमा क्रियाशील विवाद मिलाउन समिति गठन गरी क्रियाशील विवरण टुंग्याउने गरिएको छ, विवाद कायम भएका ठाउँमा अर्को महाधिवेशनमा भाग लिन पाउने गरी क्रियाशील दिइएका नजिर पनि भेटिन्छन्।
नेता शेखर कोइराला पक्षले १५ औं महाधिवेशन धकेलिने हो कि भनेर चिन्तासमेत व्यक्त गर्दै आएको छ। ‘अहिले अनुशासनका नाममा भइरहेका कारबाहीले पार्टीको १५ औं महाधिवेशन विधानसम्मत तरिकाले हुन्छ भन्ने कुरामा पनि संशय भएको कुरा छलफलमा उठ्यो,’ कोइरालाले राखेको भेलापछि सांसद राजेन्द्र बजगाईले भने।
तर प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले ०८३ मंसिरअघि नै महाधिवेशन हुने बताए।
‘०८३ को मंसिरअघि नै महाधिवेशन हुन्छ, अब आउने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका वा विधान मस्यौदा संशोधन समिति बनाउन सक्छ,’ उनले भने।
सभापति देउवाले महामन्त्री शर्मालाई ‘मसँग समय छ, धेरै हतार नगर्नु’ भन्न खोजेको पनि केन्द्रीय सदस्य विश्वकर्मा बताउँछन्।
‘मसँग कार्यकाल थप गर्ने विधान र संविधानको अधिकार छ, हतार नगर, म जे गर्छु राम्रै गर्छु तर अरूको दबाबमा गर्दिनँ भनेर सभापतिज्यूले भन्नुभएको हो,’ उनले भने, ‘१५ औं महाधिवेशन ०८३ मंसिरअघि नै हुन्छ, आमचुनाव त्यसअघि नै भयो भने त फरक कुरा, आमचुनाव अघि हुनेजस्तो पनि देखिँदैन।’
यो पनि: विश्वप्रकाशलाई देउवाको जबाफ- म अप्ठेरो मान्छे हुँ, विचार गर्नुस्