नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कास्कीका नेताहरू कुमार खड्का, कृष्ण केसी र भावना श्रेष्ठलाई कारबाही गरेपछि कास्की कांग्रेसका नेता तथा कार्यकर्ता पनि तरंगित छन्।
अनुशासन समितिले पूर्वमन्त्री खड्कालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ भने पूर्वसभापति केसीलाई ३ महिना र क्षेत्रीय समिति सहसचिव श्रेष्ठलाई ६ महिनाका लागि पार्टीको क्रियाशील सदस्यबाट निलम्बन गरेको छ।
पार्टीबाट कारबाही भोगेका तीनै जना नेताहरूले जिल्लाका एकाध नेताले आफ्नो स्वार्थ र भविष्यमा पार्टीभित्र र बाहिर प्रतिस्पर्धा गर्नुपर्ने ठानेर आफूहरूलाई पन्छाएको दाबी गरेका छन्।
पार्टीको क्रियाशील सदस्यबाट ६ महिनाका लागि निलम्बित नेपाली कांग्रेस कास्कीका पूर्वसभापति एवं महासमिति सदस्य कृष्ण केसीले देशभरबाट २१ सय जनाविरूद्ध उजुरी परे पनि आफूहरूलाई मात्र कारबाही गरेर अरूलाई सफाया दिएको प्रतिक्रिया दिए।
कारबाहीमा पार्टीभित्र चरम पूर्वाग्राही र गुटबन्दी देखिएको उनले बताए।
‘हामीमाथि भएको कारबाहीले पार्टीभित्र चरम गुटबन्दीको पराकाष्ठा देखायो। यसले नेपाली कांग्रेस पार्टीलाई राम्रो बनाउनेभन्दा पनि जनताको बीचमा अझ कमजोर ध्वस्त बनाउने काम गर्यो। यो खेदजनक र दु:खद् छ,’ उनले भने।
२०३६ सालको विद्यार्थी आन्दोलनदेखि आफू निरन्तर रूपमा कांग्रेसको नेतृत्वमा रहेको आन्दोलन गरेको भन्दै केसीले २०४६ सालमा जेल बस्नुपरेको बताए।
कांग्रेसमा लागेर संगठन गरेकै कारण आफूलाई तत्कालीन विद्रोही माओवादीले २०५६ सालमा घरमै आएर दाहिने खुट्टा भाँचिदिएको र राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि पनि ३ महिना जेल बस्नुपरेको बताए।
पार्टीमा दु:ख गरेकै कारण आफूमाथि अपमानजनक कारबाही भोग्नुपरेको भन्दै उनले निर्वाचनका बेला पार्टीभित्र देखिएका समस्याका बारेमा प्रश्न उठाउँदा कारबाही भोग्नुपरेको बताए।
पूर्वसभापति केसीलाई २०७९ को निर्वाचनमा प्रतिनिधि सभा कास्की–१ मा उम्मेदवार रहेका कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरूद्ध मत मागेको आरोप छ।
कांग्रेस मादी गाउँपालिका सभापतिसँग बसेर उम्मेदवार बराललाई मत नदिन भनेको आरोप लागेको बारेमा पनि उनले आफूले पार्टीका विरूद्ध आवाज नउठाएको बताए।
‘निर्वाचनमा हामी गठबन्धनमा थियौं। हाम्रो उम्मेदवार सभापति हुनुहुन्थ्यो। उहाँले एमालेसँग मत साटासाट गर्ने खालको रणनीति बनाएको सुनिन आएको छ। यस्तो हो भने हामीले उहाँलाई मतदान गर्नुको अर्थ हुँदैन। गठबन्धनमा बेइमानी गर्नुहुँदैन भनेर मादीका सभापतिलाई मेरो घरमा बोलाएर भनेको हुँ। यसो भने बापत कारबाही हुन्छ भने फेरि पनि गरोस्। म त भनिरहन्छु,’ उनले सेतोपाटीलाई भने।
उक्त क्षेत्रबाट कांग्रेस उम्मेदवार बराल पराजित भएका थिए भने एमालेका मनबहादुर गुरूङ निर्वाचित भएका थिए। त्यसपछि सभापति बरालले आफूमाथि पूर्वसभापति केसीले अन्तर्घात गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए।
कुनै पनि नेताको चाकडी गरेर आफू राजनीतिमा नआएको भन्दै केसीले आगामी दिनमा पनि राजनीतिक मैदान छाडेर नभाग्ने बताए।
कास्कीको राजनीति र सामाजिक क्षेत्रमा आफूले योगदान दिएको भन्दै उनले पार्टीबाट निष्कासन भएपछि अहिले आफू स्वतन्त्र नागरिक भएको भन्दै २०८४ को निर्वाचनमा उम्मेदवार उठ्ने घोषणा गरे।
‘अहिले म स्वतन्त्र नागरिक भएको छ। स्वतन्त्र रूपमै कुरा गर्नुस्,’ उनले भने, ‘एउटा कुरा के भन्छु भने म २०८४ मा मैदानमा हुन्छु। कोही नेता आओस् र जितेर देखाओस्।’
कारबाही फुकुवा गरी पाऊँ भनेर कुनै नेताको दैलोमा नजाने पनि उनले बताए। यसअघि पनि नेताले जे जे भन्छ मान्छु भनेको भए कारबाही नहुने भन्दै उनले आफूले देखेका र जानेका कुरा राख्न कहिल्यै नछाड्ने बताए।
गलत कुराको विरोध गर्दा कारबाही भोग्नुपरेको भन्दै उनले नेतृत्वले हुर्मत लिएको बताए।
‘पार्टी नेतृत्व भन्दैमा जसलाई जतिखेर जे मन लाग्छ त्यही गरेर हुर्मत लियो। हाम्रो स्वाभिमान छैन। कृष्ण केसी कहाँनिर चुकेको छ आँखा जुधाएर भन्न सकोस्,’ उनले भने।
पूर्वमन्त्री कुमार खड्का र कास्की–२ का क्षेत्रीय समिति सचिव भावना श्रेष्ठ पनि निर्वाचनमा अन्तर्घातको आरोपमा निष्कासित भएका हुन्।
उनीहरूलाई कारबाही गर्न गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सिफारिस गरेका थिए।
थापा कांग्रेस सभापति शेरबहादुर देउवा र उनका पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा निकट छन्। सभापति देउवा र राणा पोखरा आउँदा थापाको घरमा जाने गर्छन्।
गण्डकीका भौतिक पूर्वाधार मन्त्री बनेका खड्का कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सघबाट राजनीतिमा प्रवेश गरेका थिए। लामो समय बेलायत बसेर फर्किएका खड्काले संविधान सभा निर्वाचन ताका आदिबासी जनजातिले उठाएको पहिचान सहितको संघीयताका विरूद्ध क्षेत्रीय समाज नेपाल गठन गरेर आन्दोलन गरेका थिए। त्यही आन्दोलनका बलमा अखण्ड नेपाल पार्टी बनाएर दोस्रो संविधान सभामा समानुपातिकबाट उनी सांसद र मन्त्रीसमेत बनेका थिए ।
अखण्ड नेपाल पार्टी कांग्रेसमा विलय गराएर गण्डकीको राजनीतिमा होमिएका खड्काले चुनावमा असहयोग गरेको र अन्तर्घात गरेको आरोप थापाले लगाएका थिए।
कास्की– २ 'क' मा प्रदेश सभा सदस्य टिकट दाबेदार रहेका खड्काले २०७९ मा टिकट पाएनन्। उक्त क्षेत्रबाट थापाले टिकट हात पार्न सफल भए।
‘मैले टिकट दाबी गरेको थिएँ। विन्दुजीले टिकट पाउनुभयो। उहाँ पनि पाउनुपर्ने एक जना हुनुहुन्थ्यो,’ उनले भने, ‘मैले पाइनँ भनेर कुनै दुखेसो गरेको छैन। अन्तर्घात गरेको भए अघिल्लो निर्वाचनमा भन्दा धेरै भोट पाएर उहाँले कसरी चुनाव जित्नुभयो।’
आफू प्रदेश मन्त्री भएका कारण आचारसंहिता विपरीत आमसभामा भाषण गर्न मात्र नगएको उनले बताए। प्रदेशको भौतिक पूर्वाधार मन्त्री हुँदा कास्की- २ कमा अत्याधिक बजेट राखेको र वडाध्यक्ष पनि कांग्रेसलाई नै जिताएको उनले दाबी गरे।
‘विन्दुजीलाई चुनाव जिताउन म निरन्तर लागेको थिएँ। म मन्त्री हुँदा हालेको बजेटको फाइदा पनि उहाँले पाउनुभएको थियो,’ उनले भने, ‘उहाँले अघिल्लो निर्वाचनमा भन्दा २२ प्रतिशत बढी मत पाएर चुनाव जित्नुभयो। पहिलो पटक वडाध्यक्ष पनि हामीले जित्यौं। यसमा कहाँ अन्तर्घात छ।’
आगामी निर्वाचनमा प्रतिस्पर्धी हुन नदिन थापाकै योजना अनुसार आफूलाई पार्टीबाट निष्कासन भएको खड्काले दाबी गरे।
‘अर्को निर्वाचन र पार्टीको आन्तरिक राजनीतिमा प्रतिस्पर्धा पन्छाउन मलाई लाञ्छित गर्ने प्रयत्न भयो,’ उनले भने।
पार्टीमा अन्तर्घात गरेको भए अडिओ, भिडिओ वा कुनै प्रमाण पेस गर्न पनि उनले चुनौती दिएका छन्।
पार्टीले गरेको कारबाहीका प्रसङ्गमा शीर्ष नेता र अनुशासन समितिसँग सत्यतथ्य थाहा पाएपछि मात्र प्रतिक्रिया दिने उनले बताएका छन्।
‘पार्टीले मलाई किन निलम्बन गर्यो। मेरो के गल्ती गरेछ म शीर्ष नेता र अनुशासन समितिसँग जानकारी लिएर मात्र यसबारे धारणा सार्वजनिक गर्छु,’ उनले भने, ‘अहिल्यै यसो गर्छु, उसो गर्छु भन्नु अपरिपक्व हुन्छ।’
पार्टीको क्रियाशील सदस्यबाट ६ महिनाका लागि निलम्बित भावना श्रेष्ठले आफू गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको स्वकीय सचिव भएकै कारण अर्का मन्त्री विन्दुकुमार थापाले कारबाही सिफारिस गरेको बताइन्। थापाका छोराले आफूलाई धम्की र दुर्व्यवहार गरेको पनि उनले आरोप लगाएकी छन्।
‘पार्टीको जिल्ला सचिव भानु ढकालले एकछिन विन्दु दाइकहाँ कुरा गर्न जाऊँ भनेपछि म गएँ। उहाँ (विन्दुकुमार थापा) को छोराले मलाई खुट्टा भाँच्छु, पद खाइदिन्छु भनेर त्यतिबेला नै धम्की दिनुभयो। मैले यो कुरा पार्टी सभापति, क्षेत्रीय सभापति र सचिवलाई त्यतिबेलै जानकारी गराएको थिएँ। चुनाव आउन ४/५ दिन मात्र बाँकी रहेकाले त्यतिबेला सार्वजनिक गरिनँ,’ उनले भनिन्।
करिब १५ वर्षअघि कांग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिमा लागेकी श्रेष्ठ नेपाली कांग्रेस कास्की–२ क्षेत्रीय समितिका सहसचिव हुन्। उनी २०७९ को स्थानीय निर्वाचनमा पोखरा महानगर–९ की वडा सदस्य निर्वाचित छन्।
पार्टीले क्रियाशील सदस्यताबाट निलम्बन गरे पनि विचलित नहुने उनले बताइन्।
‘केही व्यक्तिहरूको स्वार्थमा परेर मलाई कारबाही भएको छ, म यसबाट विचलित हुँदिनँ,’ उनले भनिन्, ‘झन् सशक्त हुनेछु।’