आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस भएको छ।
आइतबार बसेको राप्रपा जिल्ला कार्यसम्पादन समिति रूपन्देहीको बैठकले पार्टी केन्द्रलाई ६ जनाको नाम सिफारिस गरेको हो।
२०७९ सालको आमनिर्वाचनमा निर्वाचित राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
राप्रपाका केन्द्रीय सदस्य स्वाती थापाले जिल्ला कार्य सम्पादन समितिको बैठकले ६ जनाको नाम सिफारिस गरेको सेतोपाटीलाई जानकारी दिइन्। सिफारिस गरिएकामा बोहरा परिवारबाटै तीन जना छन्।
सिफारिस गरिएकाहरुमा पार्टी केन्द्रीय सदस्यद्वय स्वाती थापा र वसन्तविक्रम शाही, रूपन्देहीका अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस भएको छ। केन्द्रीय सदस्य थापा स्वर्गीय बोहराकी नातिनी हुन्।
थापा २०७९ को निर्वाचनमा राप्रपाको चुनावी कमान्डर थिइन्। गौरव बुद्ध एयरका सिनियर पाइलट हुन् भने प्रज्ज्वल इन्जिनियर हुन्।
राप्रपा केन्द्रीय कमिटीले आइतबार उपनिर्वाचन परिचालन समिति पनि गठन गरेको थापाले जानकारी दिइन्। वरिष्ठ नेता ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठन गरिएको समितिमा निरञ्जन थापा, प्रदीप उदय र ताहिर अली सदस्य छन्।