नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको बताएका छन्।
रास्वपाले सभापति रवि लामिछानेमाथि 'राजनीतिक प्रतिशोध' भएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। सहकारी बचत रकम ठगी मुद्दामा लामिछाने रूपन्देही कारागारमा पुर्पक्षमा छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद बजगाईले रास्वपाले अदालतको आदेश अवज्ञा हुने गरी हस्ताक्षर अभियान चलाइरहेको बताएका हुन्।
‘प्राकृतिक विपत्तिका बेला राष्ट्र एकजुट हुनुपर्नेमा अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षर गरिएको छ,’ उनले भने, ‘जो बोल्छ उसको हालत ढाकाराम र मुकुलजस्तो भइदिन्छ, अनि तपाईंहरू हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउनु हुन्छ?’
उनले रास्वपालाई लक्ष्य गर्दै पहिले आफ्नो दाग सफा गर्न भनेका छन्।
‘रास्वपा प्रचारवाजीले भरिएको र फोकाहरू हो भन्न नपरोस्,’ उनले भने, ‘तपाईंहरूले कांग्रेसमाथि हद आक्रमण प्रयास गर्नुभएको छ, यसकारण पनि तपाईंहरू प्रतिगामी र गैरप्रजातान्त्रिक हो।’