प्रधानमन्त्री केपी शर्मा ओलीले आजभन्दा तीन हजार वर्ष पहिले नै चतरामा ऋषि सुश्रुतले शल्यक्रियाको सफल अभ्यास गरेको दाबी गरेका छन्।
साता अघि मात्रै ‘भगवान शिव चाम्लिङ हुन सक्ने’ अनुमान सार्वजनिक गरेका प्रधानमन्त्री ओलीले यसअघि रामको जन्म ठोरीमा भएको, पृथ्वीको गुरुत्वाकर्षण भाष्कराचार्यले पत्ता लगाएको जस्ता दाबीहरू गरिसकेका छन्।
यसबाहेक पाणिनीको जन्म नेपालको अर्घाखाँचीमा भएकोसमेत दाबी गरिसकेका उनले यसपटक त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूकै सामुन्ने ऋषि सुश्रुतले तीन हजार वर्ष पहिले नै चतरामा ‘सर्जरीको सफल अभ्यास गरेको’ बताएका हुन्।
सोमबार त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो चिकित्सा विज्ञानको चिकित्साशास्त्रको चिकित्साज्ञानको, चिकित्सा अभ्यासको विश्वमा सबभन्दा पुरानो इतिहास यहाँ छ। यस भूभागमा छ। तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए। सर्जरी गरेका थिए।’
ओलीले अगाडि थपे, ‘खेल्दाखेल्दै एउटा साथीको औंलो काटिएर छुटिएपछि उनले औंलो ल्याएर जोडेका थिए। त्यहाँबाट सफल शल्यक्रियाको दृष्टान्त पाइन्छ। पपुलेसन कम भएका कारण पछि उनले वनारसमा गएर सेवा गरेका थिए। जहाँको भए पनि मानव जातिको सेवा गरे।’
‘एलोपेथिक चिकित्सा विज्ञान सम्बन्धी चिकित्सा ज्ञानका प्रादुर्भावकर्ता हिप्पोक्रेटस २४ सय वर्ष अगाडिको रहेको तर नेपालमा ३ हजार वर्ष अगाडि नै सर्जरी नै विकास भइसकेको’ दाबी पनि प्रधानमन्त्री ओलीले गरेका छन्।
पाणिनीलाई चरकका सन्तान भनिने उल्लेख गर्दै ओलीले चरक आयुर्वेद र चिकित्साशास्त्रका जनक भएको पनि दाबी गरे।
पहिले नै पाणिनी अर्घाखाँचीमा जन्मेको बताइसकेका उनले यसपटक पनि दोहोर्याएर भने, ‘अनेक ऋषिहरू यहाँका थिए। जनक ऋषि यहीँका थिए। पाणिनीलाई चरकका सन्तान भनिन्छ। अथवा चरक अर्घाखाँचीका थिए भने पाणिनी अर्घाखाँचीका थिए।’ त्यसबेलाका प्रोफेसरहरूलाई ऋषि भनिने पनि ओलीको दाबी थियो।
भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरूङको सहयोगमा बनेको भवन उद्घाटनका क्रममा प्रधानमन्त्रीले मीनबहादुरको खुलेर प्रशंसा गरे। सम्पत्ति धेरैले कमाएको तर कोही अस्पताल बनाउनतिर लाग्दा कोही क्यासिनो जाने गरेको ओलीको भनाइ थियो।
प्रधानमन्त्रीको दल एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दान गरेका र भवनसमेत आफै बनाइदिने घोषणा गरेका गुरूङको प्रशंसा गरेका ओलीले उनले अस्पताल बनाएर आफूलाई अझै दानबीर प्रमाणित गरेको बताए।
‘अस्पताल बनाउनेहरूको प्रशंसा गर्छु, क्यासिनो जानेहरू सप्रियुन् भन्छु। उहाँहरूले असाधारण काम गर्दै आउनुभएको छ,’ ओलीले थपे, ‘उहाँहरूको दान गर्ने सामर्थ्य वृद्धि हुँदै जाओस्। सम्पत्ति उहाँको बढोस्, अस्पताल हाम्रो बनोस्। सम्पत्ति उहाँको बढोस् स्कुल हाम्रो बनोस्।’
निरोगी नेपालका दुईटा पक्ष रहेको बताउँदै प्रधानमन्त्री ओलीले सिकेसम्म निरोगी रहुँ र नभए उपचार गरेर निरोगी बनौं भन्दै उनले भनेका थिए, ‘खानपान, काम र आराममा ध्यान दिनुपर्यो। स्वास्थ्यका लागि खाना हुनुपर्यो। योग गर्नुपर्यो, प्राणायाम गर्न पर्यो। यी सबै चिजमा पहिले ध्यान दिनुपर्यो।’
विश्वकै सस्तो अस्पतालमध्ये टिचिङ अस्पताल पर्ने अनुमान गर्दै उनले टिचिङ अस्पतालका विद्यार्थी सरकारले पढाउने, शिक्षक, चिकित्सक, नर्सको तनखा पनि सरकारले व्यहोर्ने उनले बताए।
उनले भने, ‘टिचिङले आफै यस्ता भवन बनाउन सक्दैन। सरकारले पनि कतितिर ध्यान दिनु। बाढीपहिरो यहीँ जान्छ, भुइँचालो यहीँ, आगलागी यहीँ, हावाहुरीले यहीँ क्षति गर्छ। ग्लासियर यहीँ फुट्छ। अन्त कहाँ गएर फुटोस्, भिरालो छ, कलिलो पहाड छ। यहीँ पहिरो जान्छ।’