प्रतिनिधि सभाको सोमबारको बैठकलाई प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित थिए।
सदन सुरू हुँदा प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन कार्यक्रममा थिए।
प्रधानमन्त्री अनुपस्थित रहेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले ‘अहिले जहाँ सरकार त्यहाँ भ्रष्टाचार’ को अवस्था आएको आरोप लगाएका थिए। सरकारतिर धेरै प्रश्न सोझ्याउँदै तिखो आलोचना समेत गरेका थिए।
लगत्तै प्रधानमन्त्री ओलीले सदनमा दाहालले उठाएका केही प्रश्नको उत्तर सामाजिक सन्जालमार्फत दिएका छन्। जहाँ उनले दाहाल प्रधानमन्त्री हुँदा काम र संकल्प समेत नदेखिएको भन्दै जबाफ फर्काएका छन्।
आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री ओलीले लेखेका छन् ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’
ओलीले दाहाल प्रधानमन्त्री छँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु नभनेको समेत उल्लेख गरेका छन्।
‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन,’ ओलीले लेखेका छन् ‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रूपमा जबाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम।’
प्रधानमन्त्रीले दाहाललाई ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र आज कहाँ छ, तथ्यांक हेर्न’ समेत चुनौती दिएका छन्। उनले भनेका छन्, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैमाथि प्रश्न आह्वान गरें र काम पनि गरें। तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’
यो पनि:
प्रधानमन्त्रीले जहाँ टेक्नुहुन्छ त्यहाँबाट केही न केही बेथितीका खबर आउँछन् : प्रचण्ड