प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन्। सोमबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस–एमालेले यसअघिका त्रुटि सच्याउन (कोर्स करेक्सन) आफूहरू तयार रहेको भन्दै सहकार्यका लागि आग्रह गरेको जसपा नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले जानकारी दिए।
‘हामी सँगै थियौं, किन समर्थन फिर्ताको निष्कर्षमा पुग्नुभयो भन्ने उहाँहरूको कुरा थियो। सहकार्य गरेर जाऔं, हिजोका कमीकमजोरी दोहोरिन दिनेछैनौं भन्नुभयो,’ यादवले सेतोपाटीसँग भने, ‘हामीले तपाईंहरूले प्रतिबद्धता अनुरूपको काम गर्नुभएन, गठबन्धनका निर्णयमा सामेल गराउनुभएन, जनसांख्यिक आधारमा बजेट वितरण भएन, मधेस अन्यायमा पर्यो भन्यौं।’
दुई ठूला दल, कांग्रेस र एमाले मिलेर सरकार चलाएपछि आफूहरूले बिनास्वार्थ, बिनाबार्गेनिङ बाहिरै बसेर समर्थन गरेको तर सरकार प्रतिबद्धताबाट एकपछि अर्को गरी पछि हट्ने मात्रै होइन जसपा नेपाललाई जहाँ पनि असहयोग गर्ने गर्न थालेपछि समर्थन दिइराख्नुको औचित्य नदेखेको कुरा बैठकमा बताएको यादवले भने।
फेरि सहकार्यको ढोका खोल्ने हो भने प्याकेजमै सहमति हुनुपर्ने अडान आफूहरूले राखेको यादवको भनाइ छ।
‘संविधान संशोधन लगायत प्रतिबद्धता कार्यान्वयनमा तपाईंहरूमा उदासीनता देख्यौं। हामीलाई सत्ता साझेदारको व्यवहार पनि भएन। सत्ता गठबन्धनको निर्णयमा हामीले अपनत्व पनि लिन पाएनौं। कांग्रेस–एमाले बसेर छलफल गर्ने र हामीलाई जानकारी दिने मात्रै काम भयो। यसरी सत्ता सहकार्य हुँदैन,’ बैठकमा आफूहरूले राखेको कुरा उद्धृत गर्दै राजकिशोर यादवले भने।
सरकार सञ्चालनमा संघदेखि प्रदेशसम्मै समस्या रहेको बताउँदै मधेसमा जसपा नेपाललाई बाइपास गर्दै त्यहाँको अर्थमन्त्रीले दुईवटा रेडबुक (बजेट पुस्तिका) ल्याएको सन्दर्भ पनि उठेको बताए।
‘जहाँ पनि हामीलाई पेल्ने काम भएको छ भनेर हामीले भनेपछि मधेस प्रदेशमा के भएको हो भनेर गृहमन्त्री रमेश लेखकले त्यहाँका अर्थमन्त्री सुनीलकुमार यादवलाई फोन गरेर बुझ्नुभएको थियो। भनेपछि समस्या रहेछ नि! यसरी सहकार्य हुँदैन, सहकार्य गर्ने हो भने प्याकेजमै सहमति खोजौं भनेर हामीले स्पष्ट भाषामा भन्यौं,’ यादवले भने।
प्याकेजअन्तर्गत संघदेखि प्रदेशसम्म देखिएका त्रुटि सच्याउन तयार हुनुपर्ने, संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयकमा जसपा नेपालले सुरूदेखि उठाउँदै आएका विषय समावेश हुनुपर्ने, सत्ता गठबन्धनभित्रको मुख्य निर्णयमा जसपा नेपालको सहमति र अपनत्व हुनुपर्ने लगायत कुरा रहेको यादवले बताए।
यसमा सैद्धान्तिक सहमतिको स्पष्ट आधार बनेपछि मात्रै सत्ता सहकार्यको ढोका खुल्ने उनले बताए।
‘हिजो पनि पार्टी विभाजनको पीडा भुलेर हामीले समर्थन गरेका थियौं। पार्टीमा ठूलो विरोध थियो। प्रश्न उठिराखेको थियो। तर पनि कांग्रेस–एमालेको विश्वास गरेर समर्थन गरेका थियौं। तर प्रतिबद्धताअनुरूपको काम नै नभएपछि हामी किन समर्थन दिने भन्ने निष्कर्षमा पुगेका थियौं। फेरि सहकार्य गर्ने हो भने सहमतिको स्पष्ट खाका ल्याउनुहोस् भनेका छौं,’ उनले भने।
त्यसमा कांग्रेस–एमाले सकारात्मक देखिएको र एउटा कार्यदल बनाएरै सहमति खोज्ने समझदारी जुटेको उनले बताए। अर्थतन्त्रमा समयानुकूल सुधार, न्यायोचित बजेट वितरण, सामाजिक न्यायका विषयमा जसपा नेपालको दृष्टिकोणको सुनुवाइ लगायतका विषयमा समझदारी बने सहकार्यका लागि आफूहरू इच्छुक रहेको उनको भनाइ छ।
सोमबारको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, एमाले महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव सहभागी थिए।
यो पनि: सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको कार्यकारिणी समितिको निर्णय