नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो।
एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ।
त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
यी बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र अध्यक्षका लागि कार्यकालको प्रावधान नराखी मौजुदा विधानमा जे व्यवस्था छ त्यही लैजाने तयारी भइरहेको छ।
नवौं महाधिवेशनपछि एमालेमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद लागू गरिएको थियो। २०७८ को दसौं महाधिवेशनपछि पनि पालिका तहका कमिटीदेखि माथि कार्यकारी कमिटीमा ७० वर्षे उमेरहदकै प्रबन्ध गरिएको थियो। तर २०८० जेठमा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीमा गएका मुकुन्द न्यौपाने लगायतलाई पार्टीमा फर्काउन उक्त प्रावधान स्थगित गरिएकामा त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो।
लगातार दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाइने प्रावधान विधान महाधिवेशनले पारित गरे पनि दसौं महाधिवेशनपछि अचानक हटेको थियो। स्थायी कमिटी सदस्य कर्ण थापाले महाधिवेशनमा नभई विधान छाप्दा छलछामपूर्वक हटाइएको दाबी गर्दै आएका छन्। महासचिव पोखरेलले भने महाधिवेशनको बन्द सत्रअगाडि बसेको केन्द्रीय कमिटी बैठकले संशोधन गरेको र बन्द सत्रको हलले नै अनुमोदन गरेको जिकिर गरिरहेका छन्।