विशेष अदालतले आर्थिक वर्ष २०८१/८२ मा ६१ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट गरेको छ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो।
उपरजिष्ट्रार कृष्णशरण लामिछानेका अनुसार विशेष अदालतले ६१.३२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो।
६९ वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका थिए। त्यसबाहेक साउनदेखि असारभित्र १४३ वटा नयाँ मुद्दा दर्ता भएका थिए।
कुल १७१ वटा मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्य विशेष अदालतको थियो। तर त्यो पूरा भएन।
यो आर्थिक वर्षमा विशेष अदालतले १३० वटा मुद्दा फर्छ्यौट गरेको हो।
जुन प्रतिशतको हिसाबमा अघिल्लो आर्थिक वर्षभन्दा कम हो।
२०८०/८१ आर्थिक वर्षमा विशेष अदालतले इतिहासमै सर्वाधिक मुद्दा फर्छ्यौट गरेको थियो। त्यसवर्ष ८८ प्रतिशत मुद्दाको फर्छ्यौट भएको हो।
३५९ वटा जिम्मेवारी सरेका मुद्दा र २१६ वटा नयाँ दर्ता भएका मुद्दा गरी जम्मा ५७५ मुद्दाको फैसला गर्नुपर्ने थियो।
त्यसमध्ये विशेष अदालतले ५०६ वटा मुद्दालाई फर्छ्यौट गरेको थियो।
‘गत आर्थिक वर्षमा विशेष अदालत स्थापना भएयताकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको थियो,’ उपरजिष्ट्रार लामिछानेले भने, ‘यस वर्ष पनि मुद्दा दर्ता संख्या समेतलाई हेर्ने हो भने फर्छ्यौट संख्या सन्तोषजनक नै छ।’
त्यसभन्दा अगाडि सबैभन्दा बढी मुद्दा फर्छ्यौट २०६६/६७ सालमा ६४.३७ प्रतिशत भएको थियो।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईले मुद्दा फर्छ्यौट कम हुनुको कारण बताए।
‘यसपालि मुद्दा आउनेक्रमको सन्दर्भमा साउनदेखि फागुनसम्म खासै मुद्दा दर्ता भएनन्। फागुनमा त २ वटा मात्रै दर्ता भए। चैतदेखि बढ्दै गयो,’ उनले भने, ‘चार महिनामा ८० वटा मुद्दा दर्ता भए।’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यही बीचमा चर्चित घोटाला प्रकरणहरूका मुद्दाहरू पनि दर्ता गरेको थियो।
नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स प्रकरण जेठ १ गते दर्ता भएको थियो।
त्यस्तै पताञ्जली आयुर्वेद योगपीठको मुद्दा पनि जेठमै दर्ता भएको थियो।
विशेष अदालतमा चैतमा १२ वटा, वैशाखमा १९ वटा, जेठमा २९ वटा र असारमा २० वटा मुद्दा दर्ता भएका हुन्।
यसरी पछिल्लो महिनामा दर्ता भएका मुद्दामा रहेका प्रतिवादी संख्या पनि धेरै नै भएकाले पनि मुद्दाको अंग पुर्याउन पनि समय लाग्ने न्यायाधीश राईले बताए।
‘८० वटा मुद्दा चार महिनामा दर्ता हुँदा अंग नपुगेकाले फर्छ्यौट नभएको हो। कानुनले ६ महिनामा मुद्दा फर्छ्यौट गर्नुपर्छ भनेको छ। कानुनले निर्देश गरेको कानुनी व्यवस्थालाई प्रतिबद्ध र मेहेनत भएर लागेकै हो। लाग्दालाग्दै पनि ६ महिना नाघेका मुद्दाहरू ११ वटा छन्।’
अहिले ८२ वटा मध्ये ११ वटा मुद्दा ६ महिना भन्दा बढी समय लागेका छन्।
७१ वटा मुद्दा ६ महिनाभन्दा कम समयअवधि भित्रकै छन्।