राप्रपाका चार नेताहरूले विज्ञप्ति जारी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको बताएका छन्।
बिहीबार वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, दुई महामन्त्री धवल शम्सेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।
उच्चस्तरीय बैठकमा भएको समझदारी विपरीत नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरेको उनीहरूको भनाइ छ।
'सौहार्दपूर्ण सम्पन्न उच्चस्तरीय बैठकमा भएको समझदारी अनुरूप नेता सुवेदीलाई अध्यक्ष लिङदेनले ‘दाइ पार्टीमा पूर्ववत् रूपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस्’ भन्नुभएको हो। यद्यपि शीर्ष नेतृत्व तहमा भएको सहमति लत्याउँदै नेता सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
यस्तै भारतमा क्यान्सरको उपचार गरिरहेको बखत महामन्त्री धवल शम्सेर राणालाई स्पष्टीकरण समेत नसोधी संगठन विभागको प्रमुखबाट, सगुनसुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएकोमा उनीहरूले आपत्ति जनाएका छन्।
विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई क्षति पुगेको उनीहरूको ठहर छ।
'विधानको व्यवस्था अनुरूपको विधि, संख्या र सीमा नाघेर एकलौटी रूपमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको उनीहरूले बताएका छन्।
हेर्नुहोस् विज्ञप्तिः
