राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताएका हुन्।
‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौं। प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्नुपर्छ भन्ने हो। त्यही प्रदेशको स्थानीय तह र पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्दछ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता र एक अर्काको कोर्डिनेशन अझै प्रभावकारी हुन्छ,' उनले भने।
उनले विभिन्न कालखण्डमा गठन भएर अहिले काम नै नभएका आयोगहरू पनि बन्द गर्नुपर्ने बताए।
'हामी कहाँ खर्च कटौति गर्दछौँ, लगभग ११२ वटा आयोग, नियोगहरु छ। त्यो विभिन्न कालखण्डमा बनाइएको थियो, अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ । तर त्यसको काम छैन । ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई चार अर्ब जोगिन्छ,’ उनले भन।
सांसद झाले नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरुको जवाफ दिएर बस्ने काम गरिरहेको बताए। सत्तापक्षाले संसदमा प्रतिपक्षको खण्डन नगर्ने बताउँदै उनले अब सत्तापक्षलाई रास्वपाले संसदीय अभ्यास सिकाउने बताए । —न्युज एजेन्सी नेपाल