नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले विद्या भण्डारी एमाले राजनीतिमा फर्कनु पार्टीको आन्तरिक लोकतन्त्र र जनवाद दुवैसँग मेल नखाने बताएका छन्।
शनिबारको पोलिटब्युरो बैठकमा बस्नेतले राष्ट्रपतिसम्मको जिम्मेवारी लिएको व्यक्ति पार्टी राजनीतिमा फर्कनु व्यक्तिको चाहनाले मात्र नभई विधिसम्म प्रक्रिया आवश्यक रहने बताए।
'विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको व्यक्ति हो। सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न,' उनले भने।
बैठकमा उनले पार्टी सदस्यता नवीकरण गराउने विषय पनि व्यक्तिगत लडहमा नगरेर केन्द्रीय कमिटीबाट निर्णय हुनुपर्ने बताए। अहिल्यै विद्या भण्डारीको नाममा गुट बनाएर पार्टीलाई कमजोर बनाउने खेल भएको उनले बताए।
'यसलाई बन्द गरौं,' उनले भने।
बस्नेतले कांग्रेस नेता शेखर कोइराला र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग विद्या भण्डारीको भेटबारे पनि प्रश्न उठाएका छन्।
उनले भण्डारीले वाम एकताको कुरा गरेको भन्ने विषयसहितका समाचार आइरहेको विषय पनि उठान गरे।
'अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेस सिंहले भन्ने। चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ,' उनले भनेका छन्।
उनले ७० वर्षे उमेर हदभन्दा क्षमता प्रमुख हुने बताए। ' राजनीतिक अवकास स्वचालित होइन,स्वेच्छा र क्षमताको विषय हो,' उनले भने।
नेता बस्नेतले महाधिवेशनले पास गरेको विधान भन्दा अर्को विधान नछापिएको पनि बताए।
यस्तो छ बैठकमा उनले राखेको भनाइः
१. विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको व्यक्ति हो। सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र अन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।
२. उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन? यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्द्छ।
३. ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौं अब त्यसको औचित्य देखिएन । अवकाश स्वचालित होइन , क्षमता र स्वेच्छाले हुने बिषय हो, ‘मकुन्द न्यौपाने’ जस्तो पार्टी प्रवेश गर्दा पद लिन हटाउँ भन्ने पद पाएपछि चाहिँदैन भन्ने दोधार परिस्थिति नहोस्।
४. दुई कार्यकालको सीमा महाधिवेशनले हटाएको हो।अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔं। क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔं। अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ पास गरौं।
५. विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं।
६. सचिवालयमा बहुमत छ भनी मिडियाबाजी गरेर अध्यक्ष बनाउने गरी निर्णय गराउँछौ भन्ने । आफू अनुकूल निर्णय नभएपछि अण्ट सण्ट बोल्ने काम बन्द गरौं। सचिवालयको विधान संशोधन प्रस्ताव ल्याएको छ पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गरौं।
७. कहिले आफ्नो वरिष्ठ पद हट्दा टुलुटुलु हेरेर बसे भन्ने र कहिले केपी ओलीलाई औँला ठड्याएर चुनौती दिए भनेर मिडियामा नाम आएका ७० काटेका नेताहरूलाई खुला रूपमा उम्मेदवार बन्न हौसला दिने प्रस्ता सचिवालयबाट आएको छ। त्यस्तो आग्रह नराखि उहाँहरुलाई नै प्रतिस्पर्धा गर्ने वातावरण बनाउने फराकिलो निर्णय गर्ने हिम्मत गर्न केपी ओलीजस्तै विशाल छाती चाहिन्छ।
८. अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेस सिंहले भन्ने। चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।
९. एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइलाउने रोग बडेको छ। जतिसुकै असक्षमको ट्याग लागे पनि परिभाषित काममा आफ्नो क्षमता प्रदशन गरौंला। हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु।
विधानसम्बन्धित सुझाव।
१ स्थायी कमिटीको संख्या २५ पुर्याउने।
२ उपत्यका विशेष कमिटी गठन गर्ने।
३ प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटीहरू विस्तार गर्ने।
४ तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू गठन गर्ने।