राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि आलोचनामा एकपछि अर्को विज्ञप्ति जारी भएको छ।
उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्तिकुमारी शाहीले आइतबार पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनलाई निर्णय सच्याउन आग्रह गरेका छन्।
अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समितिबाट नवराज सुवेदीलाई र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए भने त्यसको ९ दिनपछि उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए।
यी निर्णयहरू गर्दा अध्यक्ष लिङ्देनले विधानको पालना नगरेको र स्पष्टीकरणको मौकासमेत नदिएको आरोप छ।
साथै अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत भन्दै सुवेदी, लावती र गिरी निर्वाचन आयोगमा उजुरी लिएर पुगेका छन्।
अध्यक्ष लिङ्देनले आफूले मनोनीत गरेका पदाधिकारीहरूले आफैविरूद्ध गुट बनाएको भन्दै पदमुक्त गरेका थिए।
‘एकता महाधिवेशनको म्याण्डेट आत्मसात गर्दै पार्टीको सर्वोपरी हित र एकताको पक्षमा सामूहिक सार्वजनिक अपिल गरेकै कारण उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विधान विपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हठात पदमुक्त गरिनु पार्टी जीवनमा दुखद घटनाक्रम हो,’ उपाध्यक्ष विक्रम र महामन्त्रीद्वय धवल तथा कुन्तिले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विधानको व्यवस्था र गरिमा अवमूल्यन गर्दै प्राकृतिक कानुनको सिद्धान्त अनुरूप स्पष्टीकरणको मौकासमेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा र उल्लंघन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने र पार्टीको प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता अस्वीकार्य रहेको उनीहरूको भनाइ छ।
‘पार्टी एकता, आन्तरिक प्रजातन्त् र विधिको शासन अवरोध हुने यस एकलौटी कार्यले देशव्यापी रूपमा पार्टीका साथीहरू र शुभेच्छुकहरुलाई दुखित एवं चिन्तित तुल्याएको छ,’ उनीहरूले भनेका छन्, ‘गिरीलाई विधान विपरीत पदमुक्त गर्ने गल्ती सच्याएर, देशभरीका पार्टीका साथीहरूको भावना समेत मध्यनजर गरेर उहाँलाई पूर्ववत् पदमा कायम राख्न पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दर्छौं।’
पार्टीको आदर्श र सिद्धान्त आत्मसात गरेर सबै एक भएर जान पर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ। ‘यो समयको माग र चुनौति हो। यस कार्यमा एक आपसमा विश्वास गरेर अगाडि बढौं,’ उनीहरूले भनेका छन्।
गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट हटाएको विरोधमा महामन्त्री शाहीसहित कर्णालीका १६ जना नेताहरूले शनिबार सामूहिक विज्ञप्ति निकालेर निर्णय सच्याउन आग्रह गरेका थिए।
यस्तै नवराज सुवेदी र सगुनसुन्दर लावतीलाई हटाउने निर्णय स्वेच्छाचारी
सुवेदी र लावतीलाई पदमुक्त गर्ने अध्यक्ष लिङ्देनको कदम स्वेच्छाचारी भन्दै उपाध्यक्ष गिरीसहित उपाध्यक्ष विक्रम, महामन्त्रीद्वय धवलशम्शेर र कुन्तीले गत बिहीबार विज्ञप्ति जारी गरेका थिए।
उपाध्यक्ष रोशन कार्की अध्यक्षतामा रहेको राप्रपा अनुशासन समितिले पार्टीका नेता कार्यकर्ताहरूलाई ‘पार्टीको नीति, सिद्धान्त र हितविपरीत हुने गरी लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि प्रकारको क्रियाकलाप नगर्न नगराउनु हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गर्ने निर्णय,’ गरेको छ।
