द कन्भरसेसन– ५१
शरणार्थी भन्नेबित्तिकै हामीलाई आफ्नै देशबाट लखेटिनुपर्दाको पीडाको झझल्को आउँछ।
झोलातुम्ला बाकेर, केटाकेटी काँध च्यापेर हिँडिरहेका विस्थापितहरूको लस्करको झझल्को आउँछ।
अनि आउँछ — सालनाल गाँसिएको त्यो भूमि कहिले फर्किन पाइएला भनेर कुरीबसेको पर्खाइको झझल्को।
सँगसँगै,
शरणार्थी भन्नेबित्तिकै हाम्रो आँखा अगाडि यस्तो व्यक्तिको झझल्को पनि आउँछ; जसले आफ्नो देश गुमायो, आश्रय गुमायो, तर हिम्मत गुमाएन।
उसको साथमा न कुनै देशको नागरिकता छ, न परिचय; छ त केवल हिम्मत — कुनै न कुनै दिन आफ्नो माटो फर्किन्छु भन्ने हिम्मत।
सेतोपाटी कन्भरसेसनमा आज हामी यस्तै शरणार्थीहरूको कथा तपाईंहरूलाई सुनाउँदै छौं।
हामी कुरा गर्दै छौं, भुटानी शरणार्थी नेता बलराम पौड्यालसँग।
आजभन्दा ३५ वर्षअघि सन् १९९० दशकको प्रारम्भतिर भुटानी राज्यसत्ताबाट एक लाखभन्दा बढी नेपालीभाषी भुटानी नागरिक लखेटिएका थिए। उनीहरूले लामो समय नेपालमा शरणार्थी जीवन बिताए। तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत कोही अमेरिका गए, कोही क्यानडा, कोही अस्ट्रेलिया।
तिनैमध्ये अमेरिकाले डिपोर्ट गरेर भुटान फिर्ता पठाएका केही शरणार्थीलाई भुटानले फेरि नेपाल नै पठाइदिएको छ। नेपाल सरकारले पनि तिनलाई भुटान वा अमेरिका डिपोर्ट गर्ने निर्णय गरिसकेको छ।
भन्नुको मतलब, उनीहरू न अमेरिकाका भए, न भुटानका, न नेपालका।
बलराम पौड्याल ती सबै शरणार्थीको आवाज बन्दै आएका छन्। हाल भुटान पिपल्स पार्टीका अध्यक्षसमेत रहेका पौड्यालको जीवन आफैमा ऐतिहासिक दस्तावेज हो। उनी सन् १९८९ नोभेम्बर ३ को मध्यरात आफ्नो घर, आफ्नो देश छाडेर निर्वासित भएका थिए। त्यसयता हालसम्म नेपालमा शरणार्थी जीवन बिताइरहेका छन्।
उनले देश छाड्दाको घटना रोचक छ। त्यति बेला भुटान सरकारले दक्षिणी भागमा बसोबास गर्ने नेपालीभाषी नागरिकलाई जथाभाबी पक्राउ गर्ने र थुनामा राख्ने क्रमलाई तीव्रता दिएको थियो। उनीहरूलाई घरखेत खोसेर देश छाड्न बाध्य पारेको थियो।
त्यसै क्रममा नोभेम्बर ३ को मध्यरात चार जना प्रहरीले बलरामलाई उनकै घरबाट पक्राउ गर्यो।
उनी त्यति बेला दक्षिण भुटानको साम्ची जिल्लाअन्तर्गत सिब्सुको बाँडा ब्लकमा मण्डलको जिम्मेवारी सम्हालिरहेका थिए।
पक्राउ गर्न गएका प्रहरीले भुटानी राजा जिग्मे सिंघे वाङचुकसँगको बैठकमा सहभागी हुन लिन आएको भनेका थिए। तर ती प्रहरीसँग दरबारको आदेशपत्र थिएन। उनीहरूको हाउभाउ र बोलीबचन सुन्दा पौड्याललाई आफू पक्राउ परेको शंका भए पनि लुरूलुरू पछि लाग्नुबाहेक अर्को विकल्प थिएन।
बाँडा ब्लकबाट अगाडि बढ्दै जाँदा बाटोमा जलढाका भन्ने खोला तर्नुपर्छ। त्यही खोला तरेर हिँड्दै गर्दा पौड्यालले प्रहरीको घेरा तोडेर भाग्ने निर्णय लिए।
उनलाई एउटा जुक्ति पनि फुर्यो।
उनी तिर्खा लागेको बहाना बनाएर पानी पिउन बाटो छेउको खोल्सीतिर लागे।
त्यति बेलासम्म दुई जना प्रहरी उनको अगाडि र दुई जना पछाडि तैनाथ थिए। तर उनले पानी पिउँदै गर्दा ती चारै जना एकै ठाउँ उभिएर कुराकानी गर्न थाले।
त्यही मौकामा बलराम आफ्नो झोला भुइँमा छाडेर कुलेलाम ठोके।
सानैदेखि हिँड्दै आएको बाटो भएकाले आधा रातमा पनि उनलाई दिशा ठम्याउन अप्ठ्यारो भएन। उनी भीर, पहरा र खोलाको बगरै बगर दौडिँदै भुटान–भारत सीमामा बग्ने तोदे खोलामा पुगे र दायाँबायाँ केही नसोची खोलामा हाम फाले।
त्यहीँबाट बलरामको शरणार्थी जीवन सुरू भयो।
'तोदे खोला तरेर निर्वासित जीवनतर्फ बढ्दै गर्दा मैले भुटानको तानाशाही व्यवस्था उन्मूलन नगरूञ्जेल घर नफर्किने र निर्वासनमा रहुञ्जेल बिनासिरानी सुत्ने प्रण गरेको थिएँ। दसैं, तिहारजस्ता परम्परागत पर्व नमनाउने प्रतिज्ञा पनि गरेको थिएँ,' बलरामले भने।
उनको त्यो प्रण आज पनि कायम छ।
उनी देश छाडेर हिँडेपछि १९८९ डिसेम्बर १४ मा उनको घर र सम्पत्ति राष्ट्रियकरण गरिएको थियो। परिवारका सदस्य पनि देश निकाला भएका थिए।
हामी बलराम पौड्यालसँग उनी लगायतका भुटानी शरणार्थीहरूको जीवन, संघर्ष र आशाका कथा सुन्ने छौं।
बलरामले हालै भुटानको इतिहास, नेपालीभाषीहरूमाथि भएको षड्यन्त्र र शरणार्थीहरूको जीवनमाथि 'पर्दापछाडिको भूटान' भन्ने किताब लेखेका छन्। दुई साताअघि सार्वजनिक यो किताब अंग्रेजी भाषामा पनि अनुवाद गरिएको छ। उनले हामीसँगको कुराकानीमा किताबमा उल्लिखित विभिन्न घटनाक्रमको चर्चा गरेका छन्।
आजभन्दा ३५ वर्षअघि नेपालीभाषी भुटानीहरूमाथि भएको राज्य–आतंकको घटना धेरैको स्मृतिबाट धमिलो हुँदै गइसकेको छ। त्यति बेला जन्मेका बच्चा नै अहिले लक्काजवान भइसके। उनीहरूले भुटानी शरणार्थीबारे सुनेका त होलान्, तर त्यसको वृत्तान्त थाहा नहोला!
यति मात्र होइन, झापाका शिविरमा अझै पनि झन्डै सात हजार भुटानी शरणार्थी छन् भन्ने कतिपयलाई अत्तोपत्तो नहोला।
यो भिडिओ संवादमा मैले बलराम पौड्यालसँग भुटानी शरणार्थीहरूको समस्या सुरू भएदेखि अहिलेसम्मको घटनाक्रमबारे विस्तारपूर्वक कुरा गरेको छु।
मैले यो कुराकानीलाई तीन भागमा बाँडेको छु — भुटानको जीवन, विभेद र विस्थापन, र शरणार्थी जीवन।
पहिलो भागमा हामीले यी सबै घटनाक्रम सुरू हुनुभन्दा अगाडि भुटानमा नेपालीभाषीहरूको अवस्था कस्तो थियो भनेर कुरा गरेका छौं।
मैले उनलाई सोधेको छु, 'भुटान कस्तो देश थियो तपाईंहरूका लागि?'
जबाफमा उनले आफ्नो गाउँ, त्यति बेलाको जनजीवन, अन्य समुदायसँगको सम्बन्ध लगायत विषयमा चर्चा गरेका छन्।
त्यसपछि दोस्रो भागमा मैले उनलाई सोधेको छु, 'तपाईंहरूको जीवन सहज चलिरहेको थियो, तर एकाएक कसरी बदलियो? कहिले बदलियो? कसरी सुरू भयो विभेदको चक्र?'
यसको जबाफमा नेपालीभाषीमाथि विभेदको सुरूआत किन र कसरी भयो भनेर उनले व्याख्या गरेका छन्।
त्यही विभेद क्रममा ज्यान गुमाएका महासुर क्षत्रीको हत्या कसरी भयो भनेर उनले बताएका छन्। क्षत्रीलाई नेपालीभाषी भुटानीहरूको आन्दोलनमा पहिलो सहिद मानिन्छ।
त्यस्तै, नीतिगत रूपमा नेपालीभाषी भुटानीहरूले भोग्नुपरेका अन्याय, शोषण र विभेदको चर्चा पनि उनले गरेका छन्।
आखिरीमा तेस्रो भाग नेपालीभाषी भुटानीहरूको शरणार्थी जीवनमाथि केन्द्रित छ। यही भागमा हामीले पुनर्वासको कुरा गरेका छौं। तीन दशकदेखि भुटानको जेलमा रहेका राजबन्दीहरूको कुरा गरेका छौं। भुटानमा अहिले नेपालीभाषीहरूको अवस्था के छ, त्यसबारे कुरा गरेका छौं।
र, अमेरिकाबाट डिपोर्ट भएर भुटान हुँदै नेपाल आइपुगेका शरणार्थीबारे कुरा गरेका छौं। उनीहरूलाई नेपालबाट पनि डिपोर्ट गर्ने सरकारको निर्णयबारे कुरा गरेका छौं।
हेर्नुहोस्, भुटानी शरणार्थी नेता बलराम पौड्यालसँगको भिडिओ कुराकानी सेतोपाटी कन्भरसेसनमा —