नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मंगलबार पनि केन्द्रीय सदस्यहरूले बोल्नेक्रम जारी रहनेछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरू भएको बैठक आज पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्नेछ।
गौतमका अनुसार सोमबार गण्डकी, मधेस र सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा आएको उपाध्यक्ष विष्णु पौडेलेको विधान संशोधनसम्बन्धी प्रस्तावमा आज पनि छलफल हुनेछ।
आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।
बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ। पार्टी सचिवालय र पोलिटब्युरो बाहेकका सदस्यहरूले मात्र बैठकमा धारणा राख्न पाउनेछन्। उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरूलाई समय उपलब्ध नगराइएको गौतमले जानकारी दिए।