नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच मंगलबार भेटवार्ता भएको छ।
निधि निवास नयाँ बानेश्वरमा भएको भेटमा नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ, इजरायल र नेपालबीचको सम्बन्ध, इजरायलमा नेपाली विद्यार्थीको ‘अर्न एन्ड लर्न’ लगायतका विषयमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ।
भेटमा नेता निधिले हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए।
राजदूत बासले जोशी सकुशल रहे नरहेकोबारे अहिलेसम्म आफूहरुलाई जानकारी नभएको बताएका थिए।
यूनमा रहेका १८ वटा प्रस्तावका सम्बन्धमा नेपालले इजरायलको पक्षमा मतदानको नीति अख्तियार गर्न आग्रह गर्दै मतदान गर्न नसक्ने अवस्था रहेमा अनुपस्थितको नीति अबलम्बन गर्नका लागि निधिसँग राजदूत बासले आग्रह गरेका थिए।
इजरायलको स्थापनादेखि नै नेपालले इजरायललाई मान्यता दिँदै आएको र द्विपक्षीय सम्बन्ध जारी राख्दै आएको बताउँदै निधिले प्यालेस्टिनीलाई पनि नेपाल सरकारको मान्यता रहेको बताएका थिए।
‘अर्न एन्ड लर्न’ कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको तर हाल रोकिएको यो कार्यक्रम पुनः सञ्चालन गर्न नेपाल तयार रहेको पनि नेता निधिले जानकारी गराएका थिए।
उनले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्धको स्मरण गर्दै इजरायलले नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति तथा कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
निधि र राजदूतबीच मधेस प्रदेशमा कृषि क्षेत्रमा लगानीको सम्भावनाका बारेमा सकारात्मक कुराकानी भएको उनको सचिवालयले जनाएको छ।