नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरूले राखेको बताएका छन्।
केन्द्रीय कमिटीको बैठकमा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेको बताए।
उनले केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गरेको बताए।
उनले भने, ‘अधिकांश बोल्नुहुने प्रतिनिधिहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल भएको छ। पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ। कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभयो। अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले पूर्वराष्ट्रपतिको हैसियतमै बस्न उपयुक्त हुन्छ। पार्टी राजनीतिमा आउने कुरा प्रणालीको लागि, व्यवस्थाको लागि राम्रो हुँदैन भन्ने कुरा राख्नुभएको छ। यसका बारेमा पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव राख्नुभएको छ।’
प्रमुख सचेतक बर्तौलाले आज नै बैठक समापन गर्ने तयारी भइरहेको बताए।—न्युज एजेन्सी नेपाल