नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिने प्रस्ताव गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको बैठकमा सहभागी एक नेताका अनुसार ओलीले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने प्रस्ताव गरेका हुन्।
ओलीले यस्तो प्रस्ताव गरेपछि पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवाद गरेको ती नेताले बताए।
बैठकमा मंगलबार मध्यरात अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिइरहेका छन्।
जबाफ दिने क्रममा अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताएका छन्।
'उहाँले अरूमार्फत पार्टी सदस्यता नवीकरण गराउनु भएछ,' ओलीले दिएको जबाफ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'नवीकरण बिधान अनुसार त्रुटिपूर्ण छ। फेरि नवीकरण उहाँले गरेको होइन। यो पार्टीको निर्णय नभई हुँदैन।'
ओलीले भण्डारीलाई गणतन्त्र गौरवले सम्मान गरेको प्रसंग निकाल्दै थपे, 'सबै पार्टी नेता बोलाएर गणतन्त्र गौरवले सम्मान गरेको दलको राजनीतिभन्दा माथि हो भनेर गरेको हो। राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्नुपर्छ। पार्टीले सम्मान गर्छ।'
पार्टीले सम्मान गर्ने बताएका ओलीले अहिलेको अवस्थामा पार्टीले भण्डारीलाई अध्यक्ष बनाउन भने नसक्ने बताएका थिए।