उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र एमाले पार्टीको सदस्यता पनि नवीकरण नहुने स्पष्ट पारेका छन्।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गणतान्त्रिक मुलुकको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आएर एउटा पार्टीको मात्र सदस्य बन्ने नभई पूर्व राष्ट्रपतिको सम्मानमा बस्नुपर्ने बताएका हुन्।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पौडेलले एमालेको उपाध्यक्ष रहेको बेला पार्टीकै सिफारिसबाट भण्डारी राष्ट्रपति बनेको उल्लेख गर्दै अब पूर्वराष्ट्रपतिको हैसियतमा मुलुकको अभिभावक बनेर बस्नुपर्ने बताए।
‘पछिल्लो केही दिन पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने विषयमा पार्टीभित्र र बाहिरसमेत व्यापक चर्चा भयो, पार्टीभित्र पनि यसबारेमा व्यापक छलफल गरी उहाँ पूर्वराष्ट्रपतिकै हैसियतमा रहनुपर्छ भन्ने एमालेले निष्कर्ष निकालेको हो,’ पौडेलले भने।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्यादेवी भण्डारीले एमाले पार्टीका लागि विगतमा गरेको योगदानको कदर स्वरूप दुई-दुई कार्यकाल राष्ट्रपति बनाएको स्मरण गर्दै अब पनि पूर्वराष्ट्रपतिकै हैसियतमा मुलुकको अभिभावक बनेर संविधानको संरक्षक भएर बस्नुपर्ने बताए।
‘उहाँले अनेम संघको केन्द्रीय अध्यक्ष र पार्टीको उपाध्यक्ष भएर पार्टीका लागि ठूलो योगदान गर्नुभएको छ। त्यही योगदानकै कारण पार्टीले पनि दुई पटक गरी सात वर्ष राष्ट्रपतिको जिम्मेवारीमा पठाएको थियो। उक्त जिम्मेवारीलाई सफलता पूर्वक निर्वाह पनि गर्नुभयो। राष्ट्रपतिको रूपमा उहाँले निभाउनुभएको योगदानको कदर गर्दै गणतन्त्र गौरवबाट सम्मानित पनि गरिसकेको छौँ तर, अब कुनै एउटा पार्टीको सदस्य बनेर राजनीतिमा आउनु उचित हुँदैन,’ उनले भने।
संविधानको रक्षा र संरक्षणको अभिभारा लिइसकेको व्यक्ति फेरि एउटा पार्टीको सदस्य बनेर राजनीतिमा फर्किनुहुँदैन भनेर नै पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको पनि पौडेलले बताए।
पौडेलले राष्ट्रपति बनेपछि भण्डारी आफैले पार्टी सदस्यता त्याग गरेकोले पार्टीको विधानले समेत उनको सदस्यता नवीकरण गर्न नमिल्ने दाबी गरे।
‘पहिलो कुरा त उहाँको पार्टी सदस्यता नवीकरण गर्ने अवस्था पनि देखिएन। कुनै सदस्यको पार्टी सदस्यता कायम छ तर होल्ड मात्र भएको छ भने नवीकरण गर्न मिल्छ तर, सदस्य आफैले स्वेच्छाले पार्टी सदस्यता त्याग गरेको छ भने सदस्यता प्राप्तिको लागि सुरूआती चरणबाटै प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। पूर्वराष्ट्रपति विद्या भण्डारीले स्वेच्छाले पार्टी सदस्यता त्याग गर्नु भएकोले उहाँको पार्टी सदस्यता कायम छैन। कायम नभएको सदस्यता नवीकरण गर्ने भन्ने विषय नै भएन,’ उनले भने।
पौडेलले पार्टीको आवश्यकताको आधारमा अध्यक्षको दुई वर्षे कार्यकाल र ७० वर्षको उमेर हदलाई हटाउने निर्णय गरिएको पनि बताए।
उनले पार्टीको नेतृत्व उमेरले नभई व्यक्तिको अनुभव, क्रियाशीलता र विचारले गर्ने भन्दै केन्द्रीय कमिटीको बैठकबाट ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकाल हटाउने निर्णय गरिएको बताए।
‘यसअघि कायम गरिएको उक्त मापदण्ड पार्टीको नेतृत्व गर्नका लागि आवश्यक रहेनछ, पार्टीको नेतृत्व गर्ने उमेरले होइन विचार, क्रियाशीलता र अनुभवले हो भन्ने निष्कर्षका साथ त्यो मापदण्ड हटाइएको हो, नेता बन्नका लागि दृष्टिकोण चाहिन्छ, विचार चाहिन्छ नीति चाहिन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई बुझेर राष्ट्रिय हितमा निर्णय गर्न सक्ने क्षमता चाहिन्छ भनेर ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानलाई हटाउने निर्णय गरेका हौँ,’ पौडेलले भने।
उनले अहिलेको सरकार गठन भएपछि दैनिक जनजीविकासँग जोडिएका थुप्रै समस्या समाधान भइरहेको र विकास निर्माणका कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेको दाबी गरे।
‘अहिले सरकारको नेतृत्व र एमालेका विरूद्धमा भ्रम सिर्जना गर्ने काम भइरहेको छ, भ्रम सिर्जना गर्ने जतिसुकै प्रयास गरे पनि ती प्रयास असफल भइरहेका छन्,’ उनले भने।
पौडेलले पछिल्लो समय एमाले र सरकारको नेतृत्वका विरूद्धमा चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै जति नै आक्रमण भए पनि वर्तमान गठबन्धन भने २०८४ सालसम्म नै कायम रहने स्पष्ट पारे।