राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरलाई पार्टीमा समाहित गरी जिम्मेवारी दिए पनि त्यसको विवरण भने तीन वर्षसम्म निर्वाचन आयोगमा अद्यावधिक नगरेको पाइएको छ।
२०७८ मंसिरमा महाधिवेशनबाट आएको १९९ सदस्यीय राप्रपा कार्यसमितिको विवरण मात्रै निर्वाचन आयोगमा अद्यावधिक छ जबकि राप्रपामा तीन सयको हाराहारीमा केन्द्रीय सदस्य छन्।
विवेकशील साझा पार्टी परित्याग गरेर मिश्रको नेतृत्वमा बृहत्तर ध्रुवीकरण पक्षधरहरू राप्रपामा समाहित भएका थिए।
२०७९ असोज १२ गते राप्रपा र बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको थियो।
त्यसबेला अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष मिश्रबीच ४ बुँदे सहमति भएको थियो।
पहिलो, विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन्।
दोस्रो, केन्द्रीय नेतृत्वमा केन्द्रीय कार्यसम्पादन समिति पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबीचको समझदारी अनुरूप एकता घोषणाको ७ देखि १० दिनभित्रमा हुनेछ।
तेस्रो, प्रदेश तथा अन्य तहगत समायोजनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना र वृहत् ध्रुवीकरण पक्षधरहरूको तर्फबाट दुई जना गरी चार सदस्यीय कार्यदल बनाइनेछ।
चौथो, निर्वाचननजिकै आइसकेको परिप्रेक्षमा तहगत समायोज हुँदै गर्दा काम नरोक्न र एक आपसमा मिलेर निर्वाचनका लागि जोडदार रूपमा तयारी गर्न हामी सबैलाई आह्वान गर्दछौं।
यस्तो सहमति भएको करिब तीन वर्षसम्म पनि राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितको विवरण निर्वाचन आयोगमा अद्यावधिक नगरेको हो।
‘रवीन्द्र मिश्र राजनीतिक रूपमा राप्रपामा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, तर अहिलेसम्म पनि राप्रपाले मिश्रसहित हामीलाई वैधानिक रूपमा निर्वाचन आयोगमा अद्यावधिक गरेको छैन, यसको कारण के हो भन्ने कुरामा अध्यक्ष राजेन्द्र लिङ्देनज्यू नै जान्नुहुन्छ तर जसले विधानको कुरा गर्छन् तिनै मानिसहरूको पनि वैधानिकताको प्रश्न छ, निर्वाचन आयोगको विवरणमा उहाँहरू (विधानको व्याख्या गर्दै हिँडेका केही संस्थापन पक्षका नेताहरू) वैधानिक केन्द्रीय सदस्यका रूपमा हुनुहुन्न,’ मिश्रनिकट केन्द्रीय सदस्य रञ्जन कार्कीले भने, ‘विधानले परिकल्पना गरेको केन्द्रीय समिति १९९ जना हो, त्यसमा हामी आयौं, वरिष्ठ उपाध्यक्ष मिश्रसहित हामीहरूलाई विधानले चिन्दैन, आजका दिनसम्म।’
अध्यक्ष लिङ्देन विधानअनुसार चल्नुपर्ने पनि उनले बताए। ‘अहिले विधानबमोजिम कामकारबाही भएको छैन, त्यसको हामी विरोध गर्छौं,’ उनले भने।
कार्कीका अनुसार मिश्रसहित राप्रपामा जोडिएका ४० जना नेताको नाम राप्रपाले अझै निर्वाचन आयोगमा अद्यावधिक नगरेको हो। ‘मैले आयोगमै गएर हेरेँ, २०७८ को महाधिवेशनबाट आएको १९९ सदस्यीय कार्यसमितिको विवरणमात्रै आयोगमा अद्यावधिक छ, हाम्रो छैन,’ उनले भने, ‘हामीलाई राप्रपाले विभिन्न पद त दियो तर त्यो कानुनी रूपमा वैध छैन, किनभने आयोगमा यसको विवरण नै राप्रपा संस्थापनले उपलब्ध गराएको छैन।’
अध्यक्ष राजेन्द्र लिङ्देनले नै मिश्रसहित ४० जनाको विवरण अद्यावधिक गर्न नपठाएको आरोप लाग्ने गरेको छ। यसबारे पार्टीका केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिका बैठकहरूमा पटकपटक कुरा उठेको थियो।
केन्द्रीय समिति र कार्यसम्पादन समितिले मिश्रसहितको विवरण आयोगमा अद्यावधिक गरिदिन औपचारिक निर्णय गर्दा पनि अद्यावधिक नभएको पाइएको छ।
‘तैपनि वरिष्ठ उपाध्यक्षज्यूले अध्यक्षज्यूलाई पूरापूर सहयोग गर्दै आइरहनुभएको छ, नवीन राप्रपा र नवीन समझदारीको अवधारणा मिश्रज्यूले नै ल्याउनुभयो, पार्टीलाई अघि बढाउनुपर्छ भन्ने उहाँको सोच छ, प्रशिक्षणलगायतमा पनि अध्यक्षज्यूलाई हरतवरबाट सहयोग गर्दै आउनुभएको छ, जहिले पनि सन्तुलित भूमिका निर्वाह गर्दै आउनुभएका उहाँ पछिल्ला गतिविधिपछि मौन हुनुहुन्छ,’ मिश्रनिकट उनले भने, ‘एकताका बेलाका ४ बुँदे सहमति, त्यसपछि वरिष्ठ उपाध्यक्ष मिश्रले अध्यक्षलाई लगातार गर्दै आएको सहयोगका बीच पनि उहाँले विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिदिनुभएन, त्यसले स्वभाविक रूपमा प्रश्न त उठायो नि!’
लिङ्देनले विवेकशील साझा छाडेर आएका मिश्रलाई वरिष्ठ उपाध्यक्ष, शरदराज पाठकलाई महामन्त्री, उज्वलकृष्ण श्रेष्ठलाई सहमहामन्त्री, अमृत पुडासैनीलाई सहमहामन्त्री, हरिकृष्ण अधिकारीलाई सहायक महामन्त्री र सौरेन्द्रबहादुर शाहलाई सहायक महामन्त्री मनोनीत गरेका थिए।
‘अध्यक्ष राजेन्द्र लिङ्देनज्यू निष्ठाको कुरा गर्नुहुन्छ तर आस्थामै विरोधाभास गतिविधि उहाँको देखिन्छ, उहाँले राजसंस्था पुनर्स्थापना आन्दोलनलाईसमेत सक्दो सहयोग गर्नुभएन,’ मिश्रनिकट एक पदाधिकारीले अध्यक्ष लिङ्देनको आलोचना गरे, ‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले नेताहरूको विवरण अद्यावधिक गर्न भने पनि उहाँले अटेरी गर्नुभएको छ, यसको अर्थ आफूलाई असजिलो पर्यो भन्ने लागेका दिन हतियारका रूपमा प्रयोग गर्न त होला!’
अहिले अध्यक्ष लिङ्देनले मनोनीत पदाधिकारीहरूलाई कारबाही गरिरहेका छन्। असार २५ गते नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्षबाट र सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका लिङ्देनले साउन २ गते उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरीलाई बर्खास्त गरे।
यसको विरोधमा पार्टीका नेताहरू प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, मुकुन्दश्याम गिरी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्तिकुमारी शाहीलगायतले विरोध गरेका छन्। नेताहरूलाई कारबाहीको निर्णय फिर्ता लिन र विधानसम्मत अघि बढ्न उनीहरूले अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण गराएका छन् तर लिङ्देनले गुट बनाउँदै असहयोग गर्नेलाई हटाइएको अभिव्यक्ति दिने गरेका छन्।
‘राप्रपामा एकता गरेदेखि नै हामीले केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समिति बैठकमा बारम्बार नेताहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरेर वैधानिकता दिन भनिरह्यौं, आजसम्म अद्यावधिक गरिएन,’ मिश्रनिकट ती नेताले भने।
राप्रपाको गत माघ ११ देखि १३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्काल निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको थियो। त्यो निर्देशन ५ महिनासम्म कार्यान्वयनमा आएको छैन।
अध्यक्ष लिङ्देनले समयमै विवरण अद्यावधिक नगरेकोले विवेकशील साझाबाट राप्रपामा समाहित भएका केही नेताहरू निस्क्रिय बनेका छन्। ‘एकतापछि विभिन्न पद दिएका नेताहरूलाई वैधानिकता दिन आयोगमा नाम अद्यावधिक गरिदिनुस् भन्दा अध्यक्षज्यूले सुन्नुभएको छैन, केन्द्रीय र जिल्लामा समायोजन भएका कयौं नेताहरू निस्क्रिय बस्नुभएको छ, यसले त सिंगो राप्रपालाई नै घाटा पुर्याउँछ नि!’ उनले भने।
अध्यक्ष लिङ्देननिकट एक पदाधिकारीले वरिष्ठ उपाध्यक्ष मिश्रले अध्यक्षलाई असहयोग गरिरहेको र गुट बनाउन भूमिका खेल्ने काम गरेको आरोप लगाए। तर उनले निर्वाचन आयोगमै उनीहरूको नाम अद्यावधिक नभएको विषय आफूलाई पनि नयाँ लागेको सुनाए।
‘मिश्रजीलाई वरिष्ठ उपाध्यक्ष (दोस्रो वरीयता) दिएर अध्यक्षज्यूले राप्रपामा ल्याउनुभयो, तर मिश्रजीले प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणा लगायतसँग मिलेर अध्यक्षलाई के गर्दा अप्ठेरोमा पार्न सकिन्छ भनेर लाग्नुभयो, पछिल्लो समय नवराज सुवेदीलाई अघि सारेर राजसंस्थाको एजेन्डामा पर्टीभन्दा व्यक्ति ठूलो जस्तोसमेत गर्नुभयो, आफै सदस्य सचिव बस्नुभयो, तर यतिकै भरमा अध्यक्षले उहाँहरूको नाम निर्वाचन आयोगमा नपठाएको भन्ने मलाई लाग्दैन,’ ती पदाधिकारीले भने।
पूर्वअध्यक्ष लोहनीलाई लिङ्देनले केन्द्रीय निर्देशन समिति अध्यक्ष बनाएका थिए। लिङ्देन विदेशमा रहेका बेला मिश्रको जोडबलमा लोहनी नेतृत्वको निर्देशन समितिले कोशीको सभामुख नलिन राप्रपा सांसदहरूलाई पत्राचार गरेको थियो। त्यसप्रति अध्यक्ष लिङ्देनले गम्भीर असहमति जनाएका थिए।
लोहनीले २०८० पुस २४ गते कोशीमा पत्र पठाएर सभामुख नलिन भने पनि सांसद अम्बरबहादुर विष्ट सभामुख बनिछाडे।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले वरिष्ठ उपाध्यक्ष मिश्रसहित बृहत्तर ध्रुवीकरण पक्षधरबाट आएकाहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक भइनसकेको बताए।
‘वरिष्ठ उपाध्यक्ष मिश्रज्यूसहित नेताहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छैन, हामी सबै कागजात संकलन गरेर अद्यावधिक गर्ने प्रक्रियामै छौं,’ उनले सेतोपाटीसँग भने, ‘नियतवश अद्यावधिक नगरेको भन्ने होइन।’
राप्रपामा तीन सय जनाभन्दा धेरै केन्द्रीय सदस्य छन्। तर १९९ जनाको नाम मात्रै निर्वाचन आयोगमा अद्यावधिक छ। ‘राजनीतिक निर्णयका आधारमा केन्द्रीय सदस्यहरू बनाइएको छ, त्यसैले तीन सयको हाराहारीमा केन्द्रीय सदस्य हुनुहुन्छ, सबै डकुमेन्ट संकलन गरेर अद्यावधिक गर्छौं,’ उनले भने।
अध्यक्ष लिङ्देनले हालै पदमुक्त गरेका एक जना पदाधिकारीका अनुसार राप्रपामा कति जना केन्द्रीय सदस्य छन् भन्ने यकिन छैन।
‘हाम्रो पार्टीमा कति जना केन्द्रीय सदस्य छन् भन्ने ठ्याक्कै भन्न सक्ने अवस्था छैन, अध्यक्षले केन्द्रीय सदस्य बाँडिराख्नुहुन्छ, कसैसँग सल्लाह गर्नुहुन्न, सामूहिक निर्णयमा उहाँलाई विश्वास छैन,’ ती पदाधिकारीले भने, ‘महाधिवेशन गर्ने बेला आउँदैछ, कार्यकाल लम्ब्याउन बहुमत जुटाउन पनि आफूनिकटलाई केन्द्रीय सदस्य बाँड्नुभएको होला, कुनै दिन कुनै विषयमा निर्णय लिनुपरे वा मत विभाजनमा गए राप्रपामा कति जना केन्द्रीय सदस्य रहेछन् थाहा पाइएला।’
अध्यक्ष लिङ्देनले पछिल्लो समय पार्टीका मनोनीत पदाधिकारी र नेताहरूलाई पदमुक्त गरेका छन्। यसको विरोधमा लिङ्देनसँगै २०७८ मंसिरको महाधिवेशनमा निर्वाचित भएका उपाध्यक्ष र महामन्त्रीहरूले विज्ञप्ति निकालेर विरोध गर्दा मिश्रसहित मनोनीत पदाधिकारीहरू मौन छन्। मिश्र मौन रहनुमा राप्रपाले उनीसहित ४० नेताको नाम निर्वाचन आयोगमा करिब तीन वर्षसम्म पनि अद्यावधिक नगर्नु रहेको उनीनिकट नेताहरू नै बताउन थालेका छन्।
यो पनि: राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन
विवेकशील साझा छाडेर राप्रपामा समाहित भएका नेताहरू, जसको नाम राप्रपाले पठाएन निर्वाचन आयोगमा;
केन्द्रीय कार्यसम्पादन समिति:
१. अनुपमान सैँजु
२. शोभा शाक्य
३. निरूपमा यादव
४. कर्णबहादुर शाही
५. नारायण कोइराला
६. रवीन्द्र मिश्र
७. शरदराज पाठक
पदाधिकारी:
१. रवीन्द्र मिश्र – वरिष्ठ उपाध्यक्ष
२. शरदराज पाठक – महामन्त्री
३. उज्वलकृष्ण श्रेष्ठ – सहमहामन्त्री
४. अमृत पुडासैनी – सहमहामन्त्री
५. हरिकृष्ण अधिकारी – सहायक महामन्त्री
६. सौरेन्द्रबहादुर शाह – सहायक महामन्त्री
केन्द्रीय सदस्य:
१. अर्जुनप्रसाद खनाल
२. हरिप्रसाद गौतम
३. उद्धवप्रसाद भेटवाल
४. घनबहादुर शाह
५. चोकराज घिमिरे
६. जयप्रकाश गुरागाईं
७. दिपकप्रसाद उप्रेती
८. मधुसुदन केसी
९. रञ्जन कार्की
१०. रोशन शिवाकोटी
११. लक्ष्मणराज सिटौला
१२. सुशील देवकोटा
१३. दिनेश भण्डारी
१४. माधव भण्डारी
१५. पशुपति पाण्डे
१६. शान्ता गिरी
१७. एस. के श्रेष्ठ
१८. लक्ष्मी घिमिरे
१९. वसन्ती ज्ञवाली
२०. विना शाह
२१. विपना शर्मा
२२. सरस्वती पन्थी भुषाल
२३. निरूपमा यादव
२४. लक्ष्मी शाही
२५. राजु बस्याल
२६. वसन्त ब्लोन तामाङ
२७. केशव खनाल
२८. संगीता श्रेष्ठ
२९. शशांक शम्शेर थापा
३०. सुशीला केसी अधिकारी
३१. जगदीश पन्थी।