नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी सदस्यता नवीकरणका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि पठाएको बताएका छन्।
प्रतिनिधिमार्फत् पार्टी सदस्यता नवीकरण भइसकेको तर यो विषय सार्वजनिक नगर्ने कुरा त्यसबेला भएको महासचिव पोखरेलको भनाइ छ।
‘पार्टी सदस्यता नवीरणका लागि प्रतिनिधि पठाउनुभएको थियो, नवीकरण भएको सार्वजनिक भइसकेको छ। त्यतिबेला सार्वजनिक नगर्ने भन्ने पार्टीको कुरा थियो। यो छलफलको विषय हो भनिएको थियो। पूर्वराष्ट्रपतिले आफै सार्वजनिक गर्नुभयो,’ च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो निवास भंगालमा मंगलबार पत्रकारहरूलाई बोलाएर पार्टीमा नैतिक मानिस आउँदा पार्टी पनि बलियो हुने कुरा राखेकी थिइन्।
त्यसप्रति लक्ष्य गर्दै महासचिव पोखरेलले भने, ‘पूर्वराष्ट्रपतिका सन्दर्भमा प्रभावशाली मानिस आउँदा पार्टीलाई फाइदा हुन्छ होला। तर यो यसरी हेर्ने विषय होइन, लोकतान्त्रिक विधि र पद्धति संस्थागत गर्ने कुरा हो।’
एमाले संस्थापन पक्षले यसअघि भण्डारीको सदस्यता पेन्डिङमा रहेको दाबी गर्दै आएको थियो।
पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने निष्कर्षमा एमाले पुगेको पनि महासचिव पोखरेलको भनाइ थियो। यसकारण सदस्यताको विषय स्वत: निस्क्रिय भएको उनको भनाइ छ।
उनले राष्ट्रपति र सभामुखका बीचको अन्तरलाई पनि बुझ्नुपर्ने बताए।
‘राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सबै प्रकारका राजनीतिक भूमिकाबाट अलग हुने व्यवस्था संविधानले गरेको छ,’ उनले भने, ‘सभामुखको हकमा भन्ने हो भने सभामुख आफैमा राजनीतिक जिम्मेवारी हो। सांसदको सदस्य रहेन भने ऊ सभामुखबाट अलग हुन्छ।’
महासचिव पोखरेलले मिसन ०८४ को नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको राय रहेको बताए।
‘केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भन्ने रायले विधानलाई खण्डित गर्दैन। विधानले त हरेकलाई प्रतिष्पर्धाको अधिकार दिएकै छ। हामी विधानका परिप्रेक्ष्यमा हामी छलफल गर्दैछौं। प्रतिष्पर्धालाई निषेध गरेका छैनौं,’ उनले भने।