प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू जबजवादी नभएको स्पष्ट पारेको बताएका छन्।
पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए।
पार्टी विभाजन भएदेखि नेपालले आफूहरू जबजवादी नभएको र जबज नमान्ने बताएको अध्यक्ष ओलीको भनाइ छ।
अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनालप्रति लक्ष्य गर्दै पाँचौं महाधिवेशनबाटै जबज नमान्ने घोषणा गरिसकको उल्लेख गरे।
उनले माधव नेपालले जबज मान्दैनौं भनेर साँचो कुरा गरेको र साँचो कुरा गर्न यति लामो समय लागेको बताए।
उनले कुनै बेलामा जबजको बाँसुरी बजाए नेता हुन पाइन्छ भन्दै जबजको बाँसुरी बजाउनेहरू रहेको पनि बताए।
उनले भने, ‘नेता हुनका लागि जबजको बाँसुरी कसले राम्रो बजाउने भन्ने कुरामा जबजको बाँसुरी त्यति मात्रै होइन, सिद्धान्त हो भने कसैले। कसैले म सिद्धान्त बनाइदिन्छु भन्यो। मानिलिऔँ जबज यस्तो चिज हो कि यसबाट ऊ, उबाट ऊ बनाउन सकिन्छ, जबजलाई सिद्धान्त बनाइदिने आठौँ महाधिवेशनमा भने। नवौं महाधिवेशनमा पुग्दा मार्गदर्शक सिद्धान्त भने। मार्गदर्शक सिद्धान्त हामीले जसरी भन्दै आएका छौँ, मार्क्सवाद लेनिनवादलाई त्यसै स्टाटसमा हामीले जबजलाई मार्गदर्शक सिद्धान्त भनेको होइन। मार्गदर्शक सिद्धान्त कुन अर्थमा मात्रै भनेका हौं भने हाम्रा सबै कामहरूलाई मार्गदर्शन गर्नुछ, बाटो देखाउनुछ।’
उनले अगाडि भने, ‘सैद्धान्तिक रूपमा नभई व्यावहारिक रूपमा हाम्रा कामहरूलाई बाटो देखाउँछ भन्ने अर्थमा मार्गदर्शक सिद्धान्तकै रूपमा स्वीकार गरेका हौँ। पछि जबज हाम्रो होइन भनेर पार्टी विभाजन भएदेखि। कोही कोही त पाँचौं महाधिवेशनदेखि नै दक्ष प्रजापतिको टाउको भन्नेहरू स्पष्टै थियो। कोही कोही पछि पार्टी विभाजन भएपछि खुलेर भने हामी जबजवादी होइनौँ। जबजको पक्षमा छैनौँ। जबज मान्दैनौँ भनेर माधव नेपाल लगायतले भने। त्यो राम्रै गरे। साँचो कुरा गरे। तर साँचो कुरा गर्न यति लामो समय लाग्यो।’
प्रधानमन्त्री ओलीले जबज एमाले पार्टीको सामूहिक बुद्धिको उपज भएको बताए।
मदन भण्डारीको अगुवाइमा संश्लेषण गरिएको तत्कालीन समयको सामना गर्न तयार गरिएको नीति भएको बताए। –न्युज एजेन्सी नेपाल