केही महिनाअघि भारत र पाकिस्तान बीच भएको युद्धका बेलामा पाकिस्तानले चीनबाट सिकेको नेटोको हवाई रणनीतिहरू प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी भारतको 'अपरेसन सिन्दूर कारबाही' को सुरू भएको बेलामा त्यस्तो हवाई रणनीति प्रयोग भएको हुन सक्ने भारतीय अनलाइन द प्रिन्टले लेखेको छ।
द प्रिन्टले जनाएअनुसार, चीनले धेरै पहिले गोप्य रूपमा नेटो राष्ट्रका पाइलट र अधिकारीहरूबाट त्यस्ता रणनीति सिकेको थियो। ती रणनीतिपछि पाकिस्तानलाई सिकाएको थियो। यसले भारत र पश्चिमा देशहरू दुवैतर्फ चिन्ता बढाएको छ।
अमेरिका लगायत पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटोले विशेष गरी लडाकू विमानको प्रयोग गर्दा एउटाले मिसाइल प्रहार गर्ने र अर्कोले ती मिसाइलको निशाना लगाउने गर्छन्। 'लन्च-एण्ड-लिभ' भनिने यो रणनीति अनुसार शत्रुको एअर-डिफेन्स सिस्टमले आक्रमण नगरोस् भनेर मिसाइल प्रहार गरेको विमान तुरून्तै कलाबाजी गरेर भाग्छ। त्यसपछि अर्को विमानले ती मिसाइलको निशाना लगाउने काम गर्छ।
चीनबाट सिकेको यस्तो रणनीति पाकिस्तानले भारतसँग प्रयोग गरेको मानिन्छ।
बेलायतको रक्षा मन्त्रालयले सन् २०२२ मा नै चिनियाँ सेनालाई तालिम दिन ३० जनासम्म पूर्वब्रिटिश सैन्य पाइलटहरूलाई ठूलो रकम दिएर प्रलोभन गरिएको बताएको थियो।
त्यस्तै, जर्मन सैन्य पाइलटहरूले चिनियाँ वायुसेनाका पाइलटलाई एक दशकदेखि तालिम दिइरहेको भनेर २०२३ मा जर्मन मिडियामा समाचार आएको थियो। चीनले वर्तमान र पूर्व पश्चिमी सैन्य पाइलट र अधिकारीहरूलाई भर्ती गर्न खोज्दैछ भनेर अमेरिका र उसका गुप्तचर साझेदारहरूले पनि २०२४ मा चेतावनी दिएका थिए।
यसरी चीनले सिकेको नेटोको रणनीति पाकिस्तानले भारतविरूद्ध प्रयोग गरेको द प्रिन्टले लेखेको छ।
कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा भारतले मे ७ मा पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो। त्यस क्रममा भारतका पाँच वटा लडाकू विमान खसालेको दाबी पाकिस्तानले गरेको थियो। ती पाँचमध्ये तीन वटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग-२९ र अर्को रूसमै बनेको सुखोइ सु-३० भएको पाकिस्तानले दाबी गरेको थियो।
पाकिस्तानी विदेशमन्त्री इशाक डारले चीनमा निर्मित 'जे-१० सी' लडाकू विमान प्रयोग गरेर भारतका ती पाँचवटा विमान खसालेको बताएका थिए।
रफाल भारतसँग भएको सबभन्दा आधुनिक र शक्तिशाली लडाकू विमान हो। पाकिस्तानसँग हवाई युद्ध गर्न भारतले रफाल विमानबाट युरोपमा बनेको 'एमबिडिए मिटियोर मिसाइल' प्रयोग गरेको मानिन्छ।
अर्कोतिर, पाकिस्तानसँग भएको सबभन्दा आधुनिक र शक्तिशाली लडाकू विमान चीनमा बनेको जे-१० सी हो। यो विमानबाट चीनमै बनेको 'पिएल-१५ मिसाइल' प्रयोग गरेर पाकिस्तानले रफालसहित भारतीय लडाकू विमान खसालेको मानिन्छ।
आधुनिक मिटियोर मिसाइल बोकेको रफाललाई पश्चिमा देशमा बनेको सबभन्दा शक्तिशाली लडाकू विमानमध्ये एक मानिन्छ। अहिले यसको टक्कर चिनियाँ पिएल-१५ मिसाइल बोकेको जे-१० सीसँग भइरहेको छ।
पाकिस्तानको दाबी साँचो हो भने युद्धमा रफाल लडाकू विमान खसालिएको यो पहिलो पटक हो।
अर्कोतर्फ, चीनमा निर्मित जे-१० सीले रफाल वा अरू कुनै भारतीय लडाकू विमानको सिकार गरेको पनि पहिलोपटक नै हो।
भारतले आधिकारिक रूपमा आफ्ना लडाकू विमान खसालेको बारेमा बोलेको छैन। तर भारतीय सेनाका विभिन्न अधिकारीहरूले आफ्ना विमान खसालिएको भनेर अलग-अलग समयमा स्वीकार गरेका छन्। यद्यपि, कति वटा र कुन विमान खसालिएको भनेर चाहिँ खुलासा गरेका छैनन्।
विमान खसालेको स्वीकारेका विभिन्न सैन्य अधिकारीमध्ये एक जनाले भने भारतीय सरकारका कारण ती विमान खसालिएको दाबी गरेका छन्। इन्डोनेसियाका लागि भारतको सैन्य सहचारी (मिलिटरी अटासे) क्याप्टेन शिव कुमारले सरकारले पाकिस्तानी सैन्य संरचनामा प्रहार नगर्नु भनेर स्पष्ट निर्देशन दिएकाले आफ्ना विमान खसालिएको बताएका थिए।
उनको भनाइको तात्पर्य पाकिस्तानमा रहेका आतङ्ककारी संरचनामा मात्रै प्रहार गर्ने स्पष्ट निर्देशनका कारण भारतीय सेनाले आफ्ना लडाकू विमानमा पाकिस्तानी सेनाले प्रहार गर्दा पनि जबाफ नफर्काएकाले ती विमान खसालिएका हुन्।
भारतजस्तै आणविक हतियार भएको पाकिस्तानसँग युद्ध नहोस् भनेर नरेन्द्र मोदी सरकारले अपरेसन सिन्दूर सुरू गर्दा पाकिस्तानी सेनामाथि प्रहार नगर्नू भनेर निर्देशन दिएको हुनसक्छ।
त्यसदिन भारतीय सेनामाथि प्रहार गर्न पाकिस्तानी सेनाले नेटोको हवाई रणनीति प्रयोग गरेको हुन सक्ने द प्रिन्टले बताएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)